काठमाडौं । तामाङ समुदायको मौलिक संगीत, संस्कृति र पहिचानलाई सञ्चारमाध्यममार्फत उजागर गर्दै आएको ‘डम्फु सेलो’ कार्यक्रमको सय शृङ्खलाको यात्रा अब पुस्तकका रूपमा सार्वजनिक भएको छ। पत्रकार तथा लेखक सुशीला तामाङद्वारा लिखित ‘डम्फु सेलो शतक यात्रा’ पुस्तक काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो।

डम्फु सेलो कार्यक्रमका सय शृङ्खलाको अनुभव, संघर्ष, उपलब्धि र सांस्कृतिक योगदानलाई अध्ययन तथा अनुसन्धानका आधारमा पुस्तकमा अभिलेखीकरण गरिएको छ। पुस्तकको सम्पादन अनुसन्धानकर्ता तथा अध्येता कैलाश राईले गर्नुभएको हो।

पुस्तकको लोकार्पण पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम वाइबा तामाङ, पूर्वमन्त्री सूर्यमान दोङ, लेखक सुशीला तामाङ, सम्पादक कैलाश राई, तामाङ संस्कृतिविद् एवं मानवशास्त्री बुद्धिबहादुर ङ्यासुर तामाङ, कवि तथा आख्यानकार बिना थिङ, सेलो गायक रोजबहादुर मोक्तान र लेखक तथा अध्येता रवीन्द्र तामाङलगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा गर्नुभएको थियो।

पुस्तकले डम्फुको ऐतिहासिक पृष्ठभूमि, सेलो संगीतको विकासक्रम, डम्फु र सेलोबीचको सांस्कृतिक सम्बन्ध तथा तामाङ समुदायको मौलिक पहिचानलाई समेटेको छ। विशेषगरी डम्फु सेलो कार्यक्रमको सुरुवातदेखि सयौँ शृङ्खलासम्म आइपुग्दाका अनुभव, चुनौती, निरन्तरता, दर्शकको साथ र कार्यक्रममा सहभागी अतिथिहरूका विचारलाई दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ।

लोकार्पणपछि ‘तामाङ संस्कृति र डम्फु सेलो’ विषयमा विचारविमर्शसमेत गरिएको थियो। छलफलमा सहभागी वक्ताहरूले तामाङ समुदायको इतिहास, सभ्यता, पहिचान र सांगीतिक परम्पराको संरक्षणमा सेलो संगीतको भूमिकाबारे आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सहजीकरण डम्फु सेलोका निर्माता जगत दोङ तामाङले गर्नुभएको थियो।

पूर्वराज्यमन्त्री परशुराम तामाङले आकारमा सानो भए पनि विषयवस्तुका दृष्टिले पुस्तक महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले तामाङ समुदायको संस्कार, संस्कृति र डम्फु सेलो कार्यक्रमको यात्रालाई अभिलेखका रूपमा सुरक्षित गरेको बताउनुभयो।

त्यस्तै, संस्कृतिविद् ङ्यासुर तामाङले पुस्तकलाई समकालीन तामाङ सेलोको नयाँ आयामका रूपमा व्याख्या गर्नुभयो। सरल भाषा र प्रस्तुतिमा तयार भएको पुस्तकले तामाङ समुदायको वर्तमान सांस्कृतिक अवस्था र समयलाई बुझ्न सहयोग पुर्‍याउने उहाँको भनाइ थियो।

कवि तथा आख्यानकार बिना थिङले डम्फु सेलो कार्यक्रममा प्रस्तुत हुने विषयवस्तुको सूक्ष्म विश्लेषण पुस्तकमा गरिएको बताउनुभयो। उहाँले कार्यक्रममा प्रयोग भएका केही महिलाद्वेषी शब्द तथा अभिव्यक्तिलाई पुस्तकमा गीतका हरफसहित उजागर गरिएको उल्लेख गर्दै आगामी दिनमा यस्ता शब्दहरूको परिमार्जन आवश्यक रहेको धारणा राख्नुभयो। सेलो गायक रोजबहादुर मोक्तानले पनि सांगीतिक प्रस्तुतिमा शब्द चयनप्रति संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो।

तामाङ सेलो संगीतको माध्यमबाट समुदायको इतिहास, सभ्यता, संस्कृति र पहिचानलाई संरक्षण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले डम्फु सेलो कार्यक्रम सञ्चालन हुँदै आएको छ। प्रत्येक शुक्रबार इन्डिजिनियस टेलिभिजन तथा जिग्मे मिडियाको युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको उक्त कार्यक्रमका हालसम्म १२५ भन्दा बढी शृङ्खला प्रसारण भइसकेका छन्।

‘डम्फु सेलो शतक यात्रा’ पुस्तकले एउटा सांगीतिक कार्यक्रमको यात्रालाई मात्र होइन, तामाङ समुदायको मौलिक सांस्कृतिक अभ्यास, विचार र समयको दस्तावेजीकरणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।