काठमाडौं । तामाङ भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई संगीतमार्फत उजागर गर्ने उद्देश्यसहित निर्माण गरिएको तामाङ गीत ‘पेङदोर्जेको डम्फू’ को म्युजिक भिडियो भव्य समारोहबीच सार्वजनिक गरिएको छ।
शुक्रबार काठमाडौंको बौद्धस्थित आमा थकाली, गेट नं. २ मा आयोजित ग्रान्ड प्रिमियर समारोहमा पूर्वमन्त्री, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यतामा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका संगठन विभाग प्रमुख कान्छालाल ब्लोन (विकास), तामाङ चलचित्र निर्देशक संघका अध्यक्ष केबी घिसिङ, नायिका चाँदनी मोक्तान, नायिका रञ्जिता ब्लोनलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार तथा संगीतप्रेमीहरूको उपस्थिति रहेको थियो।
गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा तामाङ मौलिक कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा गीत–संगीतको भूमिका महत्वपूर्ण रहने विषयमा जोड दिइएको थियो।
प्रकाश तामाङ तितुङ र सुमिना लोको स्वर रहेको गीतमा कुमार स्याङ्बाको शब्द तथा प्रकाश तामाङ तितुङकै संगीत रहेको छ। गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ नरेश बीबीसीले गरेका हुन्।
म्युजिक भिडियोमा अलिशा राई, तामाङ महानायक अमिर दोङ तामाङ, भिम्फेदी गाइज र कुइसाङ रुम्बाको अभिनय रहेको छ। भिडियोको छायांकन पवन सुस्लिङले गरेका छन् भने मेकअप सुभाष तिमल्सिनाले गरेका छन्। सम्पादन तथा कलर पवन सुस्लिङकै रहेको छ। क्रिएटिभ एरेन्ज सञ्जीव बराइलीले गरेका छन् भने उत्पादन व्यवस्थापन हरि अधिकारीले सम्हालेका छन्।
भिडियोको कोरियोग्राफी तथा निर्देशन निर्मल कुमार लामाले गरेका हुन्। भिम्फेदी गाइजको समेत संलग्नतामा तयार भएको भिडियोमा तामाङ समुदायको मौलिक पहिचान, संस्कृति, परम्परागत भेषभूषा र जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
कार्यक्रम सञ्चारकर्मी विपसना तामाङले सञ्चालन गरेकी थिइन्। सार्वजनिक भएसँगै ‘पेङदोर्जेको डम्फू’ डिजिटल प्लेटफर्ममा उपलब्ध भएको छ।
तामाङ भाषा, कला, संस्कृति र मौलिक संगीतको संरक्षण तथा नयाँ पुस्तामाझ सांस्कृतिक पहिचान स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको यस गीतले तामाङ संगीत क्षेत्रमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
भिडियो हेर्नुस् ।



















