सिन्धुली÷घ्याङलेक गाउँपालिका वडा नं. ५, बगरटोलमा रहेको विद्यालयको अवस्थाकोबारेमा यो साता विभिन्न सञ्चार माध्यमहरुमा चर्चा÷परिचर्चा भयो । टोलको नाम मात्र बगरटोल होइन कि यस गाउँमा रहेको विद्यालयको कक्षा कोठा नै खोलाको बगरमा रहेकाले यो चर्चाको विषय बन्नु स्वभाविकै रह्यो ।
मुख्य सडकबाट धेरै टाढा, सदरमुकाम सिन्धुली गढीबाट धेरै टाढा रहेको यस गाउँमा राज्य वा सरोकारवालाहरुको ध्यान पटक्कै पुगेको देखिदैन । विभिन्न मिडियामा यो विद्यालयको अवस्थाको समाचार आएपछि केही युवाहरुको मन छोयो । अनि काठमाडौं मन्टेश्वरी ट्रेनिङ सेन्टरका सञ्चालकहरु अनन्द देवकोटा र जुनु तामाङ तथा ओम नेपालका अध्यक्ष खुसराज लामाले त्यहाँ पुग्ने र विद्यालयको अवस्था बुझ्ने अठोटका साथ आईतबार त्यस तर्फ लागेका थिए ।
बगरमा रहेको ढुंगालाई डेस्क बेञ्चको रुपमा प्रयोग गर्दै गरेको अवस्था देखे । राज्यले नत पाठ्यपुस्तकको व्यवस्था गरेको छ न त शिक्षकको नै । बेखबर छ राज्य, बेखबर छ सरोकारवाला । यी सबै देखेपछि देवकोटा, तामाङ र लामाको पहलमा काठमाडौं मन्टेश्वरी ट्रेनिङ सेन्टरका प्रिन्सीपल तथा अष्ट्रेलियन नागरिक ग्याविनले विद्यालय भवन निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । भवन निर्माण भएपछि त्यहाँ आवश्यक शैक्षिक सामग्रीहरु समेत उपलब्ध गराउने उनीहरुले जाकारी दिएका छन् ।
व्यक्तिगतरुपमा ग्याविनको सहयोगमा निर्माण गर्न लागिएका उक्त विद्यालयको भवन ३ कोठे हुने पनि उनीहरुले जानकारी दिएका छन् ।