१४ फागुन गोर्खा/ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेलको जन्मस्थलमै पुगेर २३औं स्मृति दिवस मनाएको छ ।
क्रान्तिकारीले सोही अवसरमा सहिद रम्तेलका पिता सेते रम्तेल सहितका स्थानीय सहिद परिवारलाई सम्मान गरेको छ।
सहिद रम्तेलको सम्झनामा क्रान्तिकारीले बृहत् स्वास्थ शिविर समेत संचालन गरेको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार डा. अच्युत भट्ट नेतृत्वमा आएको स्वास्थ्य टोलीले रम्तेलका गाउँका स्थानीय जनताको निशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण समेत गरिएको छ।
सहिद रम्तेलको स्मृति सभामा वोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले सहिदको सपना पूरा गर्नकै लागि वाम एकता हुन लागेको धारणा राखे। कार्यक्रममा माओवादी नेता एवम् सांसद हरि अधिकारीले नयाँ नेपाल निरेमाणका निम्ति गोर्खाली जनताले अतुलनीय वलिदान गरेको बताए।
सोही कार्यक्रममा सहिद रम्तेलका पिता सेते रम्तेलले आफ्ना छोराको वलिदानले मुलुकमा गणतन्त्र आएकाले छोरा माथि गर्व लागेको वताए।
आजभन्दा २३ वर्ष अगाडि गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलवहादुर रम्तेललाई विद्यालय हातामै हत्या गरिएको थियोे। माओवादीले उनै रम्तेललाई जनयुद्धकै प्रथम सहिद मान्दै आएको छ।





















