काठमाडौं – पूर्व डीआइजी एवं सांसद नवराज सिलवाल संसद भवनमा देखिएका छन् ।

एमाले र माओवादीका सांसदहरुको संयुक्त वैठकमा भाग लिन उनी वानेश्वरस्थित संसद भवन पुगेका हुन् । गेटमा रहेका प्रहरीले उनलाई रोकेनन् ।  नक्कली कार्य सम्पादन मूल्याङ्कनमा सर्वोच्चको अदालतको फैसलापछि सोधपुछका लागि प्रहरीले पक्राउ पूर्जी काटेर उनलाई लामो समयदेखि खोजी गर्दै आइरहेको थियो ।

गत पुसमा ललितपुर प्रहरीले उनीविरुद्ध पक्राउ पूजी जारी गरेको थियो भने उनलाई भट्टेडाँडामा खोज्न प्रहरीको फौज नै पठाएको थियो । त्यसपछि उनीविरुद्ध डिफ्युजन नोटिस नै जारी गरिएको थियो । यति गर्दा पनि सिलवाललाई प्रहरीले भेटाउन सकिरहेको थिएन ।

त्यसबीचमा सिलवाल सामाजिक सञ्जालबाट आफ्ना भनाई राख्दै आएका थिए । प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओली निर्वाचित भएपछि उनी बालुवाटर समेत पुगिसकेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुर्वडीआईजी सिलवालविरुद्ध सरकारी छाप दस्तखत किर्तेको मुद्धा चलाउन राय दिएको छ ।

सरकारले प्रकाश आर्यललाई आईजीपिमा नियुक्त गरेपछि त्यस निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालतमा रिट निवेदनसँगै पेस गरेको सरकारी कागजातमा किर्ते गरेको आरोप उनीमाथि छ । सिलवाल संसद भवन प्रवेश गरिरहँदा अर्का सांसद रेशम चौधरी भने हिरासतमा रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।