-अञ्जली तामाङ
१९ फागुन २०७४
काभ्रे/माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष रञ्जित तामाङले वाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरे अनुसार शिक्षामा २० प्रतिशत लगानी गर्न सरकार समक्षा माग गरेका छन् । अखिल (क्रान्तिकारी) काभ्रेको १९ औं जिल्ला सम्मेलनको उद्घाटन गर्दै शनिबार विद्यार्थी नेता तामाङले उक्त कुरा बताएका हुन् ।
नयाँ सरकारलाई विद्यार्थी संगठनको तर्फबाट आगामी सरकारले गर्नुपर्ने कामकोबारेमा सल्लाह सुझाब दिएको कुराको स्मरण गर्दै तामाङले जायज र न्यायपूर्ण कुराहरु पूरा गर्न सरकारलाई अनुरोध गरे । ‘विद्यार्थी र अभिभावकलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था अविलम्ब गर्न हामीले प्रधानमन्त्रीलाई भनेका छौं ।’ तामाङले भने– ‘त्यति मात्र होइन, सातै वटा प्रदेशमा एक–एक वटा मेडिकल कलेज स्थापना गर्न पनि हामीले अनुरोध गरेका छौं ।’ यस अघि माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको नेतृत्वमा नीतिगत निर्णय गरेकोले यसलाई अविलम्ब कार्यन्वयन गर्न पनि तामाङले जोड दिए । उनले अबको शिक्षामा ७० प्रतिशत प्राविधिक शिक्षाको व्यवस्था गर्न समेत सरकारसँग माग गरे ।

यसैबीच माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज)ले अबको विद्यार्थी आन्दोलन समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि हुनपर्ने बताए । ‘अब सामाजिक न्याय सहितको आर्थिक समृद्धिको लागि कम्युनिष्टहरु एक ठाउँमा आएको छ । समाजवादी राज्य व्यवस्था निर्माणका लागि आज सिंगो मुलुक एकतबद्ध भएको छ ।’ उनले भने– ‘समाजवादी शिक्षा नीतिले मात्र देशले दक्ष जनशक्ति उत्पादन गर्न सक्ने भएकोले समाजवादी क्रान्तिमा पार्टीको साथमा अगाडी बढ्न म सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गर्दछु ।’

त्यसैगरि प्रदेश ३ का सांसद रत्न ढकालले शैक्षिक क्षेत्रमा सुधार ल्याउनका लागि आफूले सांसदमा खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) ३ नं. प्रदेश संयोजक तथा केन्द्रीय सचिव पवन कार्कीले समाजवादी शिक्षा प्रणालीको लागि अबको विद्यार्थी आन्दोलनको एजेन्डा भएको बताए । वर्तमान सरकारले गढबढ गरे यो सरकारको विरुद्ध आन्दोलन गर्ने त्यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्ने उनको उद्घोष थियो । कार्यक्रममा विद्यार्थी फ्र्याक्शन इन्चार्ज देवलाल घिसिङले समेत सम्बोधन गरेका थिए । सम्मेलनमा जिल्ला भरिका विद्यार्थीहरुको प्रतिनिधिमुलक उपस्थिति रहेका थिए ।























