फाल्गुन २२, काठमाडौं

प्रतिनिधि र राष्ट्रियसभाको दोस्रो बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाका अध्यक्ष चयनको औपचारिक मिति तय गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । बैठकलाई प्रमुख राजनीतिक दलका संसदीय दलका नेताहरूले पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँचवटै राष्ट्रिय दल तथा स्वतन्त्र सांसदहरूले संसदमा सम्बोधन गर्ने सचिवालयले जनाएको छ । हिजो अधिवेशन सुरु भएकै दिन सम्बोधन गर्ने तयारी भए पनि पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यतालिका र संसद बैठक एकै समयमा परेपछि आजका लागि सम्बोधनको समय तोकिएको हो ।

एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने आज सम्बोधन गर्नुहुनेछैन । एमालेका तर्फबाट वरिष्ठ नेतामध्ये एकले सम्बोधन गर्नुहुने बताइएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच राष्ट्रिय दलमध्ये राजपा नेपालले मात्र संसदीय दलको नेता चयन गर्न बाँकी छ । नेपाली कंग्रेसले हिजो मात्र सभापति शेर बहादुर देउवालाई संसदीय दलको नेता चयन गरेको छ , यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संसदीय दलको नेता हुनुहुन्छ । संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव संसदीय दलको नेता चयन भइसक्नुभएको छ ।

संसदमा राष्ट्रिय दलका नेतासहित स्वतन्त्र हैसियतमा रहनुभएका नयाँ शक्ति नेपालका डा। बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्दू लिङ्देनले पनि आज संसदलाई सम्बोधन गर्नुहुने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।