अञ्जली तामाङ
२५ फागुन, काभ्रे । आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काभ्रेको चौथो जिल्ला सम्मेलन शुक्रबार बनेपामा सम्पन्न भएको छ । अधिबेशनले चमारसिं दोङ(शिशिर)को अध्यक्षतामा १३ सदस्यी जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नयाँ कार्यसमितिमा सर्वसम्मत भएका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष राजकुमार गोले, सचिव इन्द्र थापा, सहसचिव सुनिता लुङबा, कोषाध्यक्ष सुरज श्रेष्ठ र सदस्यहरुमा जगतमान वल, विद्यासागर लामा, पुष्पा राई, होमेन्द्र राना, भिम जिम्बा, तिब्बत दर्लामी र काजोल तामाङ रहेका छन् ।

यसैबीच अधिबेशनले संघीय महाधिबेशन र प्रादेशिक अधिबेशनका लागि समेत सर्वसम्मति ढंगले प्रतिनिधि चयन गरेको छ । संघीय महाधिबेशन प्रतिनिधिमा उजाड रक्तिम, गंगा दोङ, हिरामान वाईबा, रामचन्द्र दनुवारर दिपेन्द्रलामा रहेका छन् भने प्रादेशिक अधिबेशनको प्रतिनिधिहरुमा पेमा लामा, बुद्ध लोप्चन र अञ्जली तामाङ रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका महासंंघका केन्द्रिय अध्यक्ष डन्ड गुरुङले समाबेशीको मुद्दा उठाउँदा आफू र आफ्नो संस्थालाई जातिवादीको आरोप लगाएको स्मरण गराउँदै राज्यको हरेक निकायमा समाबेशीताको सिद्धान्त लागु भएकोमा खुशी व्यक्त गरे । ‘हामीले समावेशीताको मुद्दा उठाउँदा जातिवादी भने, तर आज देश नै समाबेशीताको सिद्धान्त अनुसार चलेको छ ।’ गुरुङले भने, ‘पत्रकार महासंघ समाबेशी हुनपर्छ भनेर पहिला हामीले भनेका हौं । आज पत्रकार महासंघमा समाबेशिता छ ।’ पत्रकार महासंघ समाबेशी हुँदा सुन्दर संगठन मात्र होइन, ‘मेरो महासंघ हो’ भन्ने अपनत्व समेत महासुस गर्न पाएको बताए ।

त्यसैगरि महासंघका महासचिव गजुर्धन राईले नेपालको पत्रकारीता क्षेत्रमा आदिवासी जनजाति पत्रकारहरुको राम्रो सहभागीता हुनुपर्ने बताए ।

कार्यक्रममा सञ्चारकर्मी कार्यबहादुर रामगरलाई नगर पुरस्कार सहित सम्मान गरेका थिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका उपमहासचिव हिरामान लामा, प्रेस सेन्टरका केन्द्रीय सदस्य डिलबहादुर थोकर ‘ग्याम्जो’, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस चौतारीका अध्यक्ष भुवन रायमाझी, प्रेस यूनियनका जिल्ला अध्यक्ष कपिल कोइराला लगायतले अधिबेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।






















