२६ फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संघीय सभामुखका उम्मेदवार कृष्णबहादुर महरालाई समर्थन गरेको छ । अरु उम्मेवार नभएपछि महरा निर्विरोध निर्वाचित भएको छ ।

शनिबार बसेको संसद बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले सभामुखका रुपमा महरालाई सहयोग गर्ने र उनलाई सदैब सहयोग गर्ने बताए । महरा भद्र र सालिन व्यक्तित्व भएको भन्दै उनले समर्थन गर्नुका तीनकारण समेत प्रस्तुत गरे ।

रिजालले प्रस्तुत गरेको तीन कारण यस्तो छः

कारण १ः माओवादी नेता महराले शान्ति प्रक्रियामा महराले महत्वपूर्ण भूमिका खेलेका थिए । साथै हतियार तथा सेना व्यवस्थापनलाई अनुगमन गर्ने सहमतिका हस्ताक्षरकर्ता पनि हुन् । रिजाल भन्छन्, शान्ति प्रक्रियाका कामहरु बाँकी छन् । महरालाई सभामुखका रुपमा पाउँदा ती काम पुरा गर्न सहज हुन्छ भन्ने लाग्छ ।’

कारण २ः महरा ०४८ को संसदमा थिए । त्यो अनुभवले संसदलाई कसरी चलाउने ? सरकार र संसदको सम्वन्धलाई कसरी अगाडि लैजाने ? भन्ने सहयोग पुग्ने कांग्रेसको विश्वास छ । नेपालका पहिलो सभामुख कृष्णप्रसाद भट्टराईले लिखित रुपमा तयार पारेको दस्ताबेजलाई अभिलेखित गरेर राखेको स्मरण गर्दै रिजालले भने, संविधान बनायौं, राम्रो बनाएका छौं र अझ राम्रो बनाउन जम्मा भएका छौं । तर, संविधान बनाउने क्रममा भएका छलफलहरु बलियोसँग अभिलेखित गर्न सकेनौं । सकेको भए चुनावलगतै संविधानको ब्याख्यामा टेडियो र टीभीमा पाखुरा सुर्किनु पर्ने थिएन ।’

धेरै परम्पराको रुपमा यो प्रतिनिधिसभा रहेको भन्दै उनले भने, महराले सभामुखको जिम्मेवारी बहन गरेपछि त्यतातिर पनि ध्यान दिनु हुनेछ भन्ने विश्वास छ ।’

कारण ३ः सरकारको स्वभाव अलिकति पेल्ने हुने भन्दै उनले भने, दुई पार्टी अब एक बन्ने प्रक्रियामा हुनुहुन्छ । विस्तारै संसदमा बलियो उपस्थितिको स्वभाव र प्रकृति पनि फेरिएला । त्यसलाई पनि महराले आउने दिनका कार्यसम्पादनका लागि अहिलेदेखि नै काम गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’