२६ फागुन, काठमाडौं/माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचत भएका छन् । सभामुख पदमा महराको एकमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

सभामुखमा महरालाई माओवादीका सचेतक देव गुरुङको समर्थन  र एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रस्ताव रहेको थियो । त्यस्तै, प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि सभामुखमा महरालाई समर्थन गरेको थियो ।

समर्थन गर्ने क्रममा कांग्रेस सांसद मिनेन्द्र रिजालले सालिन व्यक्ति महराले सभाको नेतृत्व गर्न सक्षम रहेका बताए । विस्तृत शान्ति सम्झौता र हतियार व्यवस्थापनका साक्षी रहेका महराले शन्तिप्रकृयाका केही काम बाँकी नै रहेकाले त्यसको नेतृत्व गर्न महरा सफल हुने विश्वास लिए । उनले संसदको हरेक निर्णय दस्तावेजीकरण गर्न पनि महरासँग आग्रह गरे ।

नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकले महरा सभामुखमा निर्वाचित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

सभामुख महराले भने, ‘सबै राजनीतिक दलले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, अब मुलुकलाई आवश्यकपर्ने कानून निर्माणमा मेरो प्राथमिकता हुनेछ ।’

 

उनले सबै नेपाली जनताको आस्था र मनोविज्ञानलाई सम्बोधन गर्ने र सबै समस्याको निकास निकाल्ने थलोका रुपमा संसद् रहेकाले त्यसलाई मनन गरेर आफू अघि बढ्ने बताए ।

निर्वाचित भएपछि महरालाई प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगातका सांसद र संसद् सचिवालयका कर्मचारीले बधाई दिएका थिए ।

सभामुख महराको शपथ आइतबार

यसैगरी नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले आइतबार पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट महरालाई आइतबार बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

सभामुख महरा आजको प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका हुन् ।

Comments

comments