काठमाडौँ । स्थानीय तहहरुले कर्तव्य पुरा नगर्ने शिक्षकहरुलाई कार्बाही गर्न पाउने भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहले कर्तव्य पुरा नगर्ने शिक्षकहरुलाई कार्बाही गर्न सक्ने बताएका हुन् । अब शिक्षक कर्मचारीहरु स्थानीय तह प्रति नै उत्तरदायी हुनेभएकाले कार्बाहीको अधिकार पनि स्थानीय तहलाई नै भएको थपलियाले स्पष्ट पारे ।
शिक्षा पत्रकार समूहले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै थपलियाले कक्षाकोठामा नियमित नहुने, मादक पदार्थ खाएर होहल्ला गर्ने र आफ्नो कर्तव्य पुरा नगर्ने शिक्षकहरुलाई स्थानीय तहले कार्बाही गर्न सक्ने र अलिक बढी नै भए विभागीय कार्बाहीका लागि सिफारिस समेत गर्न सक्ने बताएका हुन् ।
शिक्षाको सवै अधिकार दिएर यो अधिकार नदिँदा शिक्षकहरुले स्थानीय तहलाई नटेर्ने भएकाले कार्बाहीको अधिकार पनि तल्लो तहमै पुर्याउनुपरेको थपलियाले स्पष्ट पारे ।
शिक्षक महासंघले भने स्थानीय तहहरुले शिक्षकहरुलाई दुख दिएको भन्दै नरोके आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् । शिक्षक महासंघका नवनिर्वाचित अध्यक्ष बाबुराम थापा समेत सहभागी रहेकै कार्यक्रममा थपलियाले सो कुरा बताएपछि एकछिन थापा र थपलिया बीच भनाभन समेत भएको थियो ।
सोही कार्यक्रममा थपलियाले स्थानीय तहले रिक्त स्थानमा प्रक्रियाबमोजिम सामुदायिक विद्यालयका लागि शिक्षक नियुक्ति गर्नसक्ने समेत बताएका छन् । थपलियाले बालबालिकाको गुणस्तरीय र निरन्तर पढाइ सरकारको मुख्य चासो हुने भएकाले स्थानीय सरकारले स्थायी शिक्षक पूर्ति नहुञ्जेल कानून बनाएर प्रक्रिया बमोजिम अस्थायी शिक्षक नियुक्त गर्न सक्ने बताएका हुन् ।