काठमाडौं- उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे निर्वाचन हुनेछ।

उपसभामुखका लागि नेकपा एमालेबाट डा शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी परेको छ। सभामुख माओवादी र उपसभामुख एमालेले पाउने गरी वाम गठबन्धनबीच यसअघि नै सहमति भए अनुसार तुम्बाहाम्फेलाई एमालेले उम्मेदवार बनाएको हो। प्रतिनिधिसभामा वाम गठबन्धनको बहुमत भएकाले उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित हुने निश्चित छ।

मोरङकी तुम्बाहाम्फे एमालेकी समानुपातिक सांसद हुन्। २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी उनी अखिलको केन्द्रीय उपाध्यक्षसमेत बनिसकेकी छन्। तेह्रथुममा जन्मिएकी उनी एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।

अर्घाखाँचीकी भुसाल पनि समानुपातिक सांसद नै हुन्। २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन्।