मयुर यातायात सञ्चालनको १७ दिनः १० गाडि तोडफोड
हामी जनतालाई सुविधा दिन आएका हौं, कसैसँग प्रतिपर्धा गर्न आएका होइनौं ।

१७ चैत्र, काभ्रे, बनेपा । आधुनिक सुविधा सहित सञ्चालनमा आएको मयुर यातायातले यात्रुहरुलाई अरु बस व्यवसायीहरुले आन्दोलन गरे पनि सक्दो सुविधा दिने घोषणा गरेको छ । काभ्रे मिनिबस सेवा, काभ्रे बस तथा भक्तपुर मिनिबसले आइतबारदेखि पहिलो चरणको आन्दोलनको घोषणा गरेको बेला मयुर यातायातले पत्रकार सम्मेलन गरेर उक्त कुरा बताएको हो ।

‘आन्दोलनको समयमा जनतालाई समस्या नपर्ने गरि चक्रपथ एरियामा घटाएर भएपनि यता सञ्चालन गर्ने छौं ।’ पत्रकार सम्मेलनमा मयुर यातायात प्रालिका सचिव रामबहादुर केसीले भने– ‘तर प्रशासन, जनताको साथ हामीलाई चाहिन्छ ।’

मयुर यातायातले बनेपादेखि चक्रपथ परिक्रमा गर्ने गरी यातायात सञ्चालन गरेपछि एकछत्र राज गरेर बसेका काभ्रेका विभिन्न बस व्यसायीहरु मयुर यातायातका बस तोडफोडमा उत्रेका थिए । पत्रकार सम्मेलनमा क्षति विवरण समेत सार्वजनिक गरेको छ । सचिव केसीका अनुसार १० वटा बस तोडफोड गरेकोमा ४ वटा बस भने पूर्ण मर्मत गरेपछि मात्र सञ्चालनमा आउने बताए । ‘करिब १३ लाख रुपैयाँ जतिको क्षति भएको छ ।’ केसीले भने ।

अब २४ होइन एकसय पु¥याउँछौं 

१७ दिनमै जनताको माया पाएको बताउँदै मयुर यातायातले अब बस संख्या बढाउने भएको छ । ‘जनताको माग अनुसार यसलाई मध्य नजर गरेर २४ वटा गाडि सञ्चालनमा ल्याएका थियौं ।’ पत्रकार सम्मेलनमा सचिव केसीले भने– ‘जताको माया असाध्यै भएकोले हामीले चाँडै नै एक सय वटा बस पु¥याउने छौं ।’

सुनियोजित आक्रमण

नेपाल सरकारको नीति अनुसार सञ्चालन गरेपनि सुनियोजित ढंगले आफ्नो बस माथि आक्रमण भइरहेको पत्रकार सम्मेलनमा सचिव केसीले जानकारी दिए । लुकी छिपी ढुंगा प्रहार गर्ने काम भएकोले आफूहरुले अहिलेसम्म कस्ले आक्रमण गरेको हो पत्ता लगाउन नसकेको केसीले बताए ।

‘सरकारले आक्रमणकारीहरुको पत्ता चाँडैनै लगाउने भनेको छ । हामी प्रशासन प्रति हामी विस्वस्त छौं ।’ केसीको कथन छ– ‘जनता, प्रशासनले सुरक्षा हामीलाई दिनुहुने छ भन्ने विश्वास छ ।’

सरकारको अनुमति पाए कच्चीबाटोमा सञ्चालन हुन्छ

पत्रकार सम्मेलनमा ग्रामिण क्षेत्रका कच्चीबाटोमा समेत यातायात सञ्चालन गर्न आफूहरु तयार रहेको सचिव केसीले बताए । ‘सरकारले अनुमति दिए कच्चीबाटोमा समेत हामी चलाउन चाहन्छौं ।’ उनले भने– ‘४२ सीटको गाडी चल्न सक्ने बाटो भए र जनताको माग भए कच्चीबाटोमा पनि हामी बस सञ्चालन गर्न तयार छौं । नेपाल सरकारले अनुमति चाहिं दिनुप¥यो ।’

गाडीभाडा पनि सस्तो 

काभ्रे बस र काभ्रे मिनिबसले बनेपा देखि कोटेश्वरसम्मको भाडा ४५ रुपैयाँ लिँदै आएकोमा मयुर यातायातले भने जम्मा ३५ लिने गरेको छ । त्यसपछि पूरै चक्रपथ परिक्रमाका लागि रु. ३५ मा १५ रुपैयाँ पैसा थप हुन्छ ।

आवश्यक परे रत्नपर्कमा पनि
जनताको माग आए रत्नपर्कसम्म पनि सञ्चालन गर्न आफूहरु तयार रहेको सचिव केसीले बताए । ‘हामी अहिले बनेपा–रत्नपर्कमा सञ्चालन गर्ने पक्षमा छैनौं । काभ्रेबाटै सञ्चालनमा रहेका बसहरुलाई हामी समस्या पार्न चाहन्नौं ।’ केसीले थपे– ‘तर जनताको माग आए हामी सञ्चालन गर्न तयार छौं ।’

यी व्यक्तिहरुको लागि निःशुल्क

पत्रकार सम्मेलनमा केसीले ७० वर्ष माथिका बृद्धबृद्धाहरुलाइ निःशुल्क सवार गर्न सक्ने बताए । त्यसैगरि शारीरिक अशक्त व्यक्ति, गर्भवती महिलाहरुलाई निःशुल्क सवार गर्न सक्ने छ ।

२०७४ साल माघ ४ गतेबाट उपत्यकामा संचालनमा आएको मयुर यातायातले चैत्र १ गतेबाट बनेपासम्मको यात्रा सुरु गरेकोमा शनिबार १७ दिन पूरा भएको छ ।

भिडियो

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।