१९ चैत्र काभ्रे बनेपा । सिन्डिकेटलाई कायमै राख्नुपर्छ भन्ने माग राख्दै सोमबार बनेपामा एक घण्टा चक्काजाम गरेको छ । लामो समयदेखि कोटेश्वर पूर्वको रोड नै कब्जा गरेर एकछत्र राज गरिरहेका काभ्रे बस व्यवसायी, काभ्रे मिनिबस सेवा समिति, भक्तपुर बस व्यवसायीले चक्काजाम गरेका हुन् । जनता, सरकार र स्वयं अरु व्यवसायीहरु समेत सिन्डिकेटको विपक्षमा खरो उत्रिरहेको बेला काभ्रे बस व्यवसायी संघ, काभ्रे मिनिबस सेवा समिति लगायतका समिति मिडियाबाट टाढै बस्न चाहन्छन् ।

सरकारले सिन्डिकेट हटाउन र प्रतिस्पर्धामा यातायात सञ्चालनको लागि यातायात विाभागलाई समेत निर्देशन दिईसकेको अवस्थामा सरकारलाई नै चुनौती दिदै सिण्डिकेटको पक्षमा जायज नभएको यात्रीहरुले बताउन थालेका छन् । सोमबार गरेको चक्काजामका कारण बनेपाको चारदोबाटो अस्तव्यस्त बनेका थिए ।

पुरानो यातायात व्यवसायीले आइतवार ग्रामीण भेगमा यातायात सेवा ठप्प, सोमवार चक्काजाम, चैत्र २१ गते कोटेश्वर पूर्वका यातायात पूर्ण बन्द गराउने कार्यक्रम तयार भएको बस व्यवसायी दिलबहादु शाहीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी शिब सिम्खडाले जनताको सुरक्षाको लागि आएको बसलाई रोक्ने अधिकार कसैसँग नभएका र रोकेमा कार्बाही गरिने बताए ।

बस सञ्चालनका लागि प्रहरी तैनाथ

व्यवसायीहरुले विरोध स्वरुप बिहान चक्काजाम गरेर अवरोध पु¥याए पनि प्रहरीको सुरक्षामा बस सञ्चालन भएको छ । आइतबार घोषणा गरे अनुसार नै सिन्डिकेटको पक्षमा रहेका यातायात समितिले सोमबार मयुर यातायातका बसहरु सञ्चालनमा अबरोध गरेका थिए । अबरोध गरेपनि यात्रु र प्रहरीको संयुक्त सहयोगमा बस सञ्चालनमा आएको हो ।
बनेपाको चारदोबाटो, तिनदोबाटो र जनागालमा यातायात समितिको अबरोधमा परेको बसलाई स्थानीयवासीले सुरक्षा दिएर गन्तव्यसम्म पु¥याइदिएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख सहकुलबहादुर थापाले मयुर यातायातको बस सञ्चालनमा अबरोध गर्न नदिएको बताए । ‘दिनभर बनेपामा प्रहरी तैनाथ गरिएको छ ।’ उनले भने, ‘यो सबै नागरिकको सुरक्षाको लागि हो सडकमा एकाधिकार कसैले लाद्न पाउँनैनन्, अधिकार पनि छैन्, हामी निमय कानुनको आधारमा चल्ने हो । कुनै पनि व्यवसायीले दादागीरी गरेर हुनेवाला केही नभएको भन्दै प्रहरी प्रमुख थापाले जस्तोसुकै परिस्थितीमा जनतालाई सुरक्षा दिने बताए ।’

प्रहरीकै सुरक्षामा मयुर

जिल्ला प्रहरी कार्यालयले मयुर यातायातको सुरक्षाको लागि दिन दिनै प्रहरी परिचालन गरिएको छ ।
अन्य पुराना यातायात व्यवसायहीले ढुंगा मुढा गर्ने र विभिन्न ठाउँमा अवरोध पु¥याई आक्रमण गर्न थालेपछि प्रहरी दिनभर जसो सुरक्षाको लागि खटिनु परेको हो । मयुर यातायात प्रालिले गत चैत्र १ गतेदेखि काभ्रेको बनेपासम्म २४ वटा नयाँ बस सेवा सञ्चालनमा ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले यात्रु र यातायातको सुरक्षाको लागि प्रहरी परिचालन गरिएको बताए । ‘आइतवारदेखि आन्दोलनको घोषणा कार्यक्रम अनुसार सोमवार चक्काजाम गरेको छौँ यसमा प्रहरी प्रशासनको साथ पाएका छौं ।’ मयुर यातायात प्रालिका सचिव रामबहादुर केसीले भने– ‘आन्दोलनको समयमा जनतालाई समस्या नपर्ने गरि चक्रपथ एरियामा घटाएर भएपनि सञ्चालन गरेका छौं ।’

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।