अञ्जली तामाङ
२१ चैत्र, काभ्रे, बनेपा । काभ्रेली जनता सिन्डिकेटको विपक्षमा कडा रुपमा प्रस्तुत भएका छन् । सिन्डिकेटको पक्षमा कोटेश्वर पूर्व चल्ने विभिन्न यातायात समितिले यातायात बन्द गरेपनि जनता भने सिन्डिकेटकै विपक्षमा जस्तोसुकै समस्या आइपरेपनि सहन तयार रहेको देखिन्छ ।
‘हामी सस्तो, सुविधा र विस्वासिलो गाडीमा यात्रा गर्न चाहन्छौं । रोड राज्यले बनाउने अनि सिमित व्यवसायीको कब्जामा रोडलाई छोडिदिने हो भने सधंै हामी मर्कमा पर्ने भयौं ।’ बनेपा–१० का हरिराम श्रेष्ठले भने– ‘जसरी हुन्छ स्वच्छ प्रतिष्पर्धा गर्ने र बढीभन्दा बढी जनताको सेवामा समर्पित हुन सबैलाई बाध्य बनाउनु पर्छ ।’
एकदुई दिन समस्या परेर केही नहुने बताउँदै नमोबुद्ध नपा–३ का सारदा अधिकारीले सिन्डिकेटका कारण कठीन यात्रा गर्न बाध्य भएकोले सिन्डिकेट तोड्ने सरकारको काम राम्रो भएको बताए । काभ्रे बस सेवा समिति र काभ्रे मिनिबस सेवा समिति लगायत १३ वटा यातायात समितिहरु मिलेर कोटेश्वर पूर्वमा कुनै पनि यातायात नचलाउने निर्णय गरेको जनाएको छ ।
बनेपा-धुलिखेल रुटमा साझादेखि मेट्रोसम्म
यातायात व्यवस्था विभागले केही व्यवसायीले लगाएको सिन्डिकेट तोड्न कोटेश्वर पूर्व बनेपा–धुलिखेलसम्मका लागि उपत्यकामा पञ्जीकरण चलेका सार्वजनिक सवारीसाधनलाई पठाउन थालेको छ ।

विभागले पटके इजाजत दिँदै आज मात्रै साझा यातायात प्रालिका सातवटा, मेट्रो सिटीका केही बस बिहान ८ बजेदेखि बनेपा–धुलिखेल रुटमा पठाएको हो । कोटेश्वर पूर्व गाडी चलाइरहेका १३ मध्ये ११ वटा समितिले सार्वजनिक सवारी बन्द गरेपछि विभागले अस्थायी पटके इजाजातमा कम्पनी मोडलमा सञ्चालित गाडीलाई बनेपा–धुलिखेल पठाएको छ ।

विभागले कम्पनी मोडलमा पञ्जीकरण भएर आएका जुनसुकै सवारीलाई स्थायी वा अस्थायी जुनसुकै इजाजत दिने घोषणा गरे । अहिले यसै विषयमा गृहमन्त्रालयमा गृहमन्त्रीसहित छलफल चलिरहेको छ । व्यवसायीले सिन्डिकेट लाद्न खोजे पनि सरकार त्यसबाट पछि हट्ने छैन’, साना तथा मझौला यातायात कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले भने, ‘समस्या देखिएको रुटमा उपत्यकामा सञ्चालित सार्वजनिक सवारी पठाएर यात्रुलाई गन्तब्यमा पुर्याउँदैछौँ।

सुविधा सम्पन्नमा मात्र इजाजत ?– सैंजु
यातायात ब्यवस्था विभागबाट मयुर यातायातलाई सुविधासम्पन्न ठाउँमा मात्र चल्नको लागि ईजाजतपत्र दिएको आरोप काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेश सुन्दर सैजुले लगाएका छन् । ‘मयुरको २४ वटा गाडीलाई मात्रै राम्रो ठाउँमा ईजाजतपत्र दिएर भएन, ग्रामीण भेगमा पनि चलाउनु प¥यो ।’ सैंजुले भने– ‘प्रतिस्पर्धामा बस सेवा सञ्चालन गर्न हामी तयार छौं ।
यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बन्द प्रति आफ्नो नैतिक समर्थन मात्र रहेको बताए । ‘बन्द हामीले गरेका होइनौं कोटेश्वर पूर्वका समितिहरुले गरेका हुन् ।’ कर्माचार्यले भने, ‘पछि हामीसँग छलफलमा आउने छन्, त्यसबेला हामीले अवस्थाको बारेमा बुझेर काम गर्नेछौं ।’

प्रमुख जिल्ला अधिकारी यसो भन्छन्ः
काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिमखडाले यातायात ब्यवसायीहरुले ज्ञापनपत्र बुझाएर आन्दोलनको घोषणा गरेको हो । ‘मयुर यातायातका विषयलाई लिएर केही दिन अगाडी हामीकहाँ ज्ञापनपत्र बुझाउन आएको थियो, त्यही अनुरुप कोटेश्वर पूर्वको यातायात बन्द गरेको हुनसक्छ ।’ सिमखडाले भने, ‘सिन्डीकेट भनेको राज्यको विरुद्ध हो, तोडफोड र बन्द गर्न पाईदैन, प्रतिस्पर्धामा जानुपर्छ ।’
उनले जिल्लाभित्र कुनै पनि तोडफोडको घटनाहरु नभएको र केही दिन अघि भएको तोडफोडको घटना भक्तपुर जिल्लामा भएको बताए ।






















