२५ चैत्र, बनेपा । बनेपा नगरपालिका–६ का वडाध्यक्ष सचितानन्द केसी र बनेपामा रहेको खानीखोला हार्डवयरका प्रोपाइटार सुधिर श्रेष्ठबीच ‘घमासान फाईट’ भएको छ ।
वडा अध्यक्ष केसी र व्यवसायी श्रेष्ठबीच झगडा हुँदा हार्डवयर पसलमा क्षति पुग्नुको साथै एकजना स्थानीय घाइते भएका छन् ।

सडकमा गाडी रोकेको भन्दै वडाध्यक्ष केसीले आइतबार बिहान साढे ८ बजे हार्डवयरका सञ्चालकलाई गाडी हटाउन भनेका थिए । उनले नमानेको भन्दै अध्यक्ष केसीले हाडैवयर सञ्चालकलाई धकेलेपछि सामान्य घटनाले उग्ररुप लिएको थियो ।

बनेपा नगरपालिकाले फुटपाथमा पार्किङ गर्ने गाडीहरु हटाउने अभियानस्वरूप बरम्बार सूचना जारी गरिरहेको थियो । व्यवसायीहरुले सूचनालाई अवज्ञा गर्दै फुटपाथका पसल र गाडी पार्किङ हटाउन अटेरी गरिरहेका थिए ।

बनेपा नगरपालिकाकै अभियानलाई सफल बनाउन वडा नम्बर ६ का वडाध्यक्ष केसीले फुटपाथमा गाडी पार्किङ नगर्न आग्रह गरेका थिए । घटनाका एक प्रत्यक्षदर्शीले वडाध्यक्षको कदम राम्रो भएपनि शैली हुकुमी प्रकारको भएकाले घटना घटेको आरोप लगाए ।

‘वडाध्यक्षको अभियानलाई साथ दिनुपर्छ । नगरपालिका वरपर फुटपाथमा व्यवसायहरुले कमाउन धन्दा गरिरहेका छन् । यस्तो बेला नगरपालिकाको अगुवाइमा वडाले गरेको काम ठीक हो ।’ अर्का प्रत्यक्षदर्शीले भने,‘तर यसरी युवाहरु परिचालित गर्नु भन्दा प्रहरी प्रशासन राखेर कानुनी कारबाहीमा लागेको भए यस्तो घटना घटदैनथ्यो होला ।’ अहिले वडाध्यक्ष रिहा भएका छन् भने हार्डवयर सञ्चालक प्रहरीको हिरासत छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

लौ हेर्नुहोस् भिडियो

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।