१८ बैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले २०१९ सालदेखि विभाजित कम्युनिष्टहरु एकतावद्ध हुन लागेको बताउँदै यसबाट पछि हट्ने कल्पनै नगर्न आग्रह गर्नुभएको छ । १२९ औं मई दिवसको अवसरमा मंगलवार राजधानीमा आयोजित कार्यक्रमलाई समबोधन गर्दै यस्तो बताउनु भएको हो ।

‘कम्युनिष्टहरुलाई एकतावद्ध गराउने अवसर मिलेको छ । यसलाई हामी कुनै हालतमा गुमाउने छैनौं’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपाल समाजवादको आधार निर्माण गर्ने नयाँ युगतिर गईरहेको छ । यसका लागि हजारौं नेपालीहरुले जीवनको बलिदान दिएका छन् ।’

आफूहरुले गरेको विकासको परिकल्पना धनी र गरीबबीचको खाडल मेटाउने भएको उहाँको धारणा थियो । उहाँले नेपाल र नेपालीको भविश्य उज्वल छ भन्दै त्यसको अभिभारा राजनीतिक नेतृत्वसहित सबै श्रमजीविहरुको काँधमा रहेको बताउनुभयो ।

‘यस वर्षको मई दिवस नयाँ उपलब्धीका साथ मनाईरहेका छौं । यो उपलब्धी हामीले सशस्त्र र शान्तिपूर्ण संघर्षका श्रृंखला पश्चात प्राप्त गरेका हौं,’ उहाँले भन्नुभयो । अध्यक्षले यस वर्षको मई दिवस गर्व र विजयीभावका साथ मनाईरहेको बताउनु भयो ।