२५ बैशाख, पाँचखाल । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताले दिएको विश्वास र अपेक्षाका आधारमा सरकारको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।
काभ्रे जिल्ला स्थित पाँचखाल नगरपालिकाको चौँथो वार्षिकोत्सव तथा नगरपलिकाको स्थापना दिवस कार्यक्रमलाई मंगलबारसम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
‘सरकार अहिले नीति, कार्यक्रम र बजेटको तयारीमा जुटेको छ, हाम्रो राजनीतिक इच्छाशक्ति र त्यसमा केही गर्नुपर्छ भन्ने दृढता र विश्वास जनताले हामीलाई दिएको छ ।’ उनले भने– ‘त्यसको आधारमा उभिएर नयाँ नीति, कार्यक्रम र बजेट आउँछ ।’
राज्यमन्त्री बाँस्कोटाले विदेशमा रहेका कुनै कम्पनीले नेपाली कामदार माग्दा त्यो मागेको हो कि होइन, साँँचो हो कि होईन, त्यसले निर्धारण गरेको तलब साँचो हो की होईन भन्ने विषयमा सम्बन्धित देशको नेपाली नियोगबाट प्रमाणित गरेर मात्रै नेपाली कामदार पठाउने कार्यविधि सरकारले स्वीकृत गरेकोले यस्को कार्यन्वयन गर्ने बताए ।
‘चालीस लाख युवा विदेशमा राखेर देशको अर्थतन्त्र धानिरहेका सरकार तिनको जीवनको सुरक्षा गर्ने नाममा केही अवैध मान्छेले चलाउने अवैध धन्दालाई वैधता गर्ने पक्षमा छैन ।’ मन्त्री बाँस्कोटाले भने– ‘विकासको काममा सत्ता पक्ष र प्रतिपक्ष भन्ने नभएकाले सबै मिलेर काम गनुपर्छ ।’
राज्यमन्त्री बाँस्कोटाले पाँचखालमा खानेपानी र सिँचाइको काम अगाडि बढ्ने विश्वास व्यक्त समेत व्यक्त गरे ।
सो अवसरमा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नगरलाई आर्थिक हैसियत नदिइकन काम मात्रै थुपरेर सरकारले ‘डम्पिङ साइड’ बनाउन खोजेको आरोप लगाउँदै अब आउने आर्थिक वर्षभित्रमा नै पाँचखालवासीका लागि खानेपानी उपलब्ध गराइने बताए ।
सो अवसरमा नगरभित्रका उत्कृष्ट काम गर्ने कर्मचारी, शिक्षासेवी, उद्योगी, करदाता र उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।






















