३१ वैशाख, २०७५
काठमाडौं। आइतबार रातिदेखि नै देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भएको छ ।

वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएको छ भने खोला नालामा बाढी भएको छ । वर्षा सँगै खसेको पहिरोले म्याग्दीमा चार वटा घर पहिरोले पुरेको छ भने एक दर्जन भन्दा बढी घरमा क्षति पुगेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपलिका २ भुरुङ तातोपानी बजारमा लेदोसहितको पहिरो खसेको हो । पहिरो आए पछि भागेर स्थानीयबासिन्दाले ज्यान जोगाएका छन् । यस्तै, पहिरो खस्दा पाल्पाको सिद्धर्थ राजमार्ग अबरुद्ध भएको छ ।

पाल्पाको तीनाउ गाउँपालिमा ३ अन्तरगत सडकखण्डमा खसेको पहिरोका कारण पाल्पा, गुल्मी, स्याङजा, पोखरा र बुटवल जाने आउने गाडी रोकिएका छन् । यस्तै झरीका कारण अरनीको राजमार्ग र मुग्लिन नरायणघाट सडकखण्डमा पनि जोखिम रहेको प्रहरीले जनाएको छ । यसैबीच, झरी पर्ने सम्भावना कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यात्रामा निस्कनु अघि प्रहरी, ट्राफिक प्रहरी वा जल तथा मौसम पूर्वानुमान महाशाखासँग सम्पर्क गरेर मौसम र सडकको अवस्था बारे जानकारी लिन आग्रह गरिएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।