-दूध लामा
दक्षिण कोरिया । नेपालबाट ल्याईएको बुद्धको मूर्ति आईतबार दक्षिण कोरियामा प्रतिस्थापन गरिएको छ । दक्षिण कोरियाको ख्यङ्गी प्रान्तको ऐतिहासिक वाउछङ्सा बौद्ध गुम्बामा बुद्धको मूर्ति स्थापना गरिएकोे हो ।
नेपाललाई विश्वसामु चिनाउने र भगवान बुद्धबारे भइरहेका भ्रम निवारण गर्ने उद्धेश्यले सम्पन्न यो कार्यक्रम ऐतिहासिक भएको कार्यक्रम संयोजक अञ्जु केसीले बताइन् ।
नेपाली सम्पर्क समिति, दक्षिण कोरियाको संयोजन, नेपाल बौद्ध परिवारको सहकार्य, यहाँ क्रियाशील विभिन्न संघसंस्था र सहयोगी ब्यक्तिहरुको आर्थिक सहयोगमा स्थापना गरिएको हो । नेपालका मूर्तिकारहरुले कुँदेर तामाबाट बनाइएको उक्त बुद्ध मूर्ति ८ फिट अग्लो रहेको छ ।
कार्यक्रम संयोजक केसीका अनुसार उक्त मूर्ति कोरियासम्म ल्याउन र मुर्ति राखिएको गुम्बाको व्यवस्थापन समेतका लागि हालसम्म ५ करोड कोरियन वन खर्च भएको छ । उनले यहाँ आउने बौद्धमार्गीहरुमा बुद्धको जन्मस्थानबारे स्पष्ट भई नेपालको पर्यटन विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको समेत बताइन् ।
गत महिना कोरिया ल्याइएको मूर्तिलाई मे १२ तारिखमा २५६२ औँ बुद्ध जयन्तिको अवसरमा सउलमा आयोजित अन्तराष्ट्रिय शान्ति पदयात्रा र्यालीमा नगर परिक्रमा गराइएको थियो ।
बुद्ध प्रतिमा स्थापना अनावरण, उद्धघाटन कार्यक्रम दक्षिण कोरियाका लागि नेपाली राजदुत अर्जुन जंग सिंहको प्रमुख आतिथ्य, कोरियाका लामा गुरु, नेपालका लामा गुरु, बुद्धिजिवी, पत्रकार, कोरियाली, नेपाली संघ संस्थाप्रतिनिधी र नेपालीहरुको उल्लेख्य उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको छ ।