दोलखा । दोलखाकी हिमाल आरोही निमाजाङमु शेर्पाले एकै महिना ३ वटा हिमाल आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेकी छिन् ।
दोलखाको रोल्वालिङ क्षेत्र बेदिङकी २७ वर्षीया आरोही निमाजाङमुले एकै महिना ३ वटा हिमालको सफल आरोहण गर्दै साहसिक विश्व कीर्तिमान कायम गरेकी हुन् । दोलखाली छोरी निमाजाङमुले ६५ वर्षको आरोहण ईतिहाँसमा एक महिनाभित्र सगरमाथा, ल्होत्से र कञ्चनजंघा हिमालको सफल आरोहण गरेर पहिलो साहसिक आरोहीको कीर्तिमान बनाएकी हुन् ।
उनले बैशाख १६ गते ८ हजार ५ सय १६ मिटर उचाईको ल्होत्से हिमाल आरोहण गरेकी थिईन् भने बैशाख ३१ गते ८ हजार ८ सय ४८ मिटरको विश्वको सर्वोच्च शिखर सगरमाथा र हिजो ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको सफल आरोहण गरेकी छिन् । निमाजाङमले हिजो बिहान ६ बजेर २० मिनेट जाँदा कठिन र जोखिम मानिने कञ्चनजंघा हिमालको सफल आरोहण गरेको माउन्ट एभरेष्ट समिट क्लव रोल्वालिङले जनाएको छ ।
यो सँगै निमाजाङमुले एक महिनको छोटो अवधिमा सहजै ३ अग्ला हिमाल आरोहण गरेर साहसिक र शक्तिशाली आरोहीको नाममा विश्व कीर्तिमान कायम गरेकी हुन् । बाल्यकालदेखि नै रोल्वालिङबाट खुम्वु प्रवेश गर्ने ५ हजार ५ सय मिटरको टासिलप्चा क्षेत्रमा गाईडका रुपमा काम गर्दै आएकी निमाजाङमुले विश्वको सर्वोच्च शिखरसहित नेपालकै तीन ठुला हिमालको सफल आरोहण गरेकी हुन् । कञ्चनजंघा नेपाल भरीका हिमाल मध्य सगरमाथा पछिको दोस्रो र ल्होत्से तेस्रो ठुलो हिमाल हो ।
रोल्वालिङ क्षेत्रमा सामान्य होटल व्यवसाय गर्दै आएकी निमाजाङमुले गत शरद ऋतुमा पनि आमादव्लम हिमालको सफल आरोहण गरेकी थिईन् । नर्वेकी एक आरोहीले गत वर्ष एउटै मौसममा सगरमाथा र ल्होत्सेको आरोहण गरि कीर्तिमान कायम गरेपनि एकै महिना ३ वटा हिमालको आरोहण गर्ने निमाजाङमु विश्कै पहिलो महिला भएको उनका गाईड लाक्पा शेर्पाले जानकारी दिनुभयो । औपचारिक शिक्षा समेत नलिएकी निमाजाङमु एक्सपीडिसन बेस कम्पनीबाट अनुमति लिएर हिमाल आरोहणमा गएकी थिईन् ।






















