पोखरा । अमेरिकामा कृयाशिल तामाङ सोसाइटि अफ अमेरिकाको (टिएसए) निवर्तमान महासचिव अमर तामाङले कास्की जिल्लाको तामाङ घेदुङको भवन निर्माणका लागि १ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

एक औपचारिक कार्यक्रममा सामाजिक सेवामा क्रियाशिल तामाङले जिल्ला घेदुङका अध्यक्ष कृष्णबहादुर तितुङलाई सो रकम हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा टिएसएका तामाङले नेपाल तामाङ घेदुङ कास्कीले तामाङ भाषा, धर्म, संस्कार संस्कृति संरक्षण क्षेत्रमा उल्लेखनीय योगदान दिदै आएको बताए ।

‘कास्की घेदुङले नमुना काम गरिरहको छ । यो संसारभरीका आम तामाङले गर्व गर्ने विषय हो । नेपालको पर्यटकीय शहर पोखरामा तामाङ घेदुङ कास्कीको भवन बनाउने कुरा आफैमा ऐतिहासिक छ र हो ।’ उनले भने, ‘सहकार्य र समन्वय सबैसँग गर्नु पर्छ । समाजका लागि गर्ने काममा हातेमालो गर्नु पर्छ । यसले सफलता दिन्छ । सुविधा सम्पन्न भवन मेरो पनि चाहाना हो । यस अर्थमा खुसी लागेको छ ।’

कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुम बहादुर तामाङ, घेदुङका सचिवालय सदस्य एवम् प्रदेश नं.४ का अध्यक्ष दिपक वाईबा, घेदुङका केन्द्रीय सदस्य हरिमान तामाङ, पूर्व केन्द्रीय सल्लाहकार प्रताप बहादुर वाईवा लगााएतको सहभागीता रहेको थियो ।

कास्की घेदुङले आर्थिक सहयोग गरेकोमा युवा समाजसेवी अमर तामाङलाई कृतज्ञता ज्ञापन गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।