काठमाडौं। नवगठित नेपाल कम्युनिष्ट पार्टी गैरकानुनी रुपमा निर्वाचन आयोगमा दर्ता भएको भन्दै आयोगमा उजुरी दर्ता भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हो ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले ओली–प्रचण्डविरूद्ध शुक्रबार निर्वाचन आयोगमा दर्ता गराइएको निवेदन यस्तो छः
श्री निर्वाचन आयोग
कान्तिपथ, काठमाडौं
विषयः आवश्यक कार्बाही गर्नेबारे ।
उक्त विषयमा विगत केही दिनदेखि सत्तामा रहेका दलहरुले एकता प्रक्रिया मार्फत निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नाम गरेको दल दर्ता गरेको र त्यसको अध्यक्षमा केपी वली र पुष्पकमल दाहाल रहेको भनि संचार माध्यममा प्रचार भइरहेको र स्वयं सरकारका मान्छेहरु वाट समेत यस्तो अभिव्यक्ति आइरहेको प्रति नेपाल कम्युनिष्ट पार्टी सम्मानित निर्वाचन आयोगको ध्यान यस तर्फ आकृष्ट गराउन चाहन्छु । तत्काल यसको सत्य तथ्य सार्वजनकि गर्न र यस्तो असंवैधानिक तथा गैह्रकानुनी काम गर्नेहरुलाई कानुनी कार्वाही गर्न माग गर्दछ ।
(१) नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोग को मिति २०७४ । ५ । २८ च.नं. ७४।०५ रा.द. ३।२।४३८ को पत्र अनुसार निर्वाचन आयोगको २०७४।५।२२ को निर्णय अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धी ऐनको दफा ४८ अनुसार निर्वाचन आयोगमा दर्ता भएको दल हो । स्मरणीय छ नेपाल कम्युनिष्ट पार्टी संविधानको धारा २६९ अनुसार पनि निर्वाचन आयोगमा दर्ता भएको छ ।
(२) राजनैतिक दल सम्वन्धिऐन २०७३ (संशोधन सहित) को दफा ६ को (ङ) मा दर्ता हुन आएको दलको नाम वा चिह्न निर्वाचन आयोगमा दर्ता रहेको दलको नाम वा चिन्ह संग मिल्ने भएमा त्यस्तो दल दर्ता हुन नसक्ने प्रष्ट कानुनी व्यवस्था छ ।
(३) यस्तो कानुनी व्यवस्था हुँदाहुँदै सरकारमै रहेका दलहरुबाट संविधान र कानुनको सोझै उलङ्घन हुनु र सम्बन्धित निकाय समेत मौन रहनुले नेपालको लोकतन्त्र र कानुनी राजको मान्यता को उलङ्घन भएको छ । समयमै यस्तो अधिनायकवादी दुस्कार्य रोकी नेपालको संविधान र नागरिककोको मौलिक हकको रक्षा गर्न आग्रह गर्दछु ।
ऋषिराम कट्टेल
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी
बोधार्थः
नेपाल सरकार, राजनीतिक दलहरु र सञ्चार माध्यमहरु






















