काठमाडौं । तत्कालीन माओवादी केन्द्रका नेता तथा गणतन्त्रका सेनानी बालकृष्ण ढुंगेल आज (मंगलबार) जेल रिहा भएका छन् ।

रिहापछि कार्यकर्ता र शुभचिन्तकलाई सम्बोधन गर्दै नेता ढुंगेलले रिहाईका विरुद्ध सर्वोच्च अदालतमा रिट दिने दिनेश त्रिपाठीप्रति आक्रोस पोखे । ‘यो देश संकटकालमा लपेटिदै गर्दा दिनेश त्रिपाठीहरु कस्को जुत्ता चाट्दै थियो ?’ उनले भने– ‘रिट दिएकोमा अदालतले त्यो खारेज गर्नुपथ्र्यों । दिनेश त्रिपाठी जस्ताहरुलाई फोरम दिनु आवश्यकतै थिएन ।’

एक थाल भातका निम्ति विकेको आरोप

सम्बोधनकै क्रममा नेता ढुंगलले पत्रकार, वकिल र न्यायधिस एक थाल भातको निम्ति विकेको आरोप लगाए । उनीहरुलाई राज्यले बुझ्नुपर्ने ढुंगेलको अनुरोध थियो । ‘एक थाल भातमा विक्रि हुने पत्रकार, एक थाल भातका निम्ति अनैतिक कामको लागि कालो कोट लगाएर सर्वोच्च अदालत धाउने कथित न्यायधिसहरु र कथित वकिलहरुलाई राज्यले बुझ्नुपर्छ ।’ ढुंगेलले भने ।

रिहाई पछिको भिडियोः

शान्तिमा युद्धको खेती गर्ने प्रति घृणा

आफूलाई रिहा हुनबाट रोक्नेहरु प्रति पनि ढुंगेलले घृणा व्यक्त गरे । ‘मेरो नाममा रिहाई हुनुहँुदैन भन्नेहरु धेरै छन् ।’ नेता ढुंगेलले भने– ‘शान्तिमा युद्धको र युद्धमा शान्तिको खेती गर्ने नेपाललाई समृद्ध नबनाउने, मुलुकलाई कंगाल बनाइराख्ने भीख माग्ने डलरवादीहरुको अभियान प्रति घृणा व्यक्त गर्दछु ।’

उनको प्रतिबद्धता

उनले गणतन्त्रका निम्ति आफू लडेकोले गणतन्त्रको अपहरण हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘यो धर्तीमा जवसम्म म जीवित रहन्छु, त्यतिन्जेलसम्म गणतन्त्र अपहरण हुन दिन्न ।’ उनले भने– ‘म खुशी पनि छैन निरास पनि छैन, कारागार भन्दा बाहिर अब मेरो जीवन आरम्भ भएको छ । आगामी दिनमा यो देशको समृद्धिको निम्ति पार्टीले निर्माण गरेको कार्यदिशालाई आत्मसात गरि अगाडि बढ्ने छु ।’

सरकारलाई धन्यवाद

आफूलाई रिहाई गर्ने निर्णय गरेकोमा सरकारलाई ढुंगेलले धन्यवाद व्यक्त गरे । ‘आज फेरि पनि डलरवादीहरुले मलाई मैदानमा आउन नदिन जुन दुस्साहस गरे यसको विरुद्ध सरकारले पनि आँट गरेको छ ।’ उनले भने– ‘सरकारलाई पनि धन्यवाद दिन चाहन्छु ।’

ढुंगेल सिधै पेरिसडाँडा

रिहाई पछि ढुंगेल सिधै पेरिस डाँडा गएका छन् । उनी रिहाई हुने भएपछि पार्टीका नेता कार्यकर्ताहरु कारागार परिसरमा पुगेका थिए । विद्यार्थी नेता रञ्जित तामाङ, योङ कम्युनिष्ट लिगका नेताहरु लगायत त्यहाँ पुगेका थिए । जम्मा भएका कार्यकर्ताहरुले ‘जनयुद्ध जिन्दावाद’, गणतन्त्र जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।