बनेपा । सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारसँग अहिलेका अहिल्यै सूनकै अण्डा दिन सक्ने तागत नभएको बताएका छन् ।
जिल्ला सहकारी संघ लि. काभ्रेले बनेपमा आयोजना गरेको स्थानीय बिकासमा सहकारीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
बजेटकोबारेमा आएको विभिन्न टिकाटिप्पणी प्रति लक्षित गरि राज्यमन्त्री बाँस्कोटाले भने– ‘अहिलेका अहिल्यै त सूनको अण्डा दिनसक्ने क्षमता यो सरकारसँग छैन तर एक वर्षपछि हेर्नुहोस् थाहा हुन्छ ।’ उनले बजेट प्रति धेरै शंका नगर्न पनि अनुरोध गरे ।
यसैबीच कार्यक्रममा सम्बोधन गर्दै राज्यमन्त्री बाँस्कोटाले वर्तमान सरकारले प्रस्तुत गरेको बजेट विकासको मशाल भएको दावी गरे । ‘विकासको मशाल बालेका छौं । त्यो मशाल कहिल्यै पनि निभ्ने छैन ।’ उनले भने, ‘त्यसैले अर्थमन्त्री ज्यूले भनेको छ कि २ वर्ष गाली खान्छु, तर २ वर्षपछि तालि बाहेक केही खान्नौं ।’
सम्बोधनकै क्रममा बाँस्कोटाले सहकारी समाजवाद निर्माणको एक महत्वपूर्ण पिलर भएको बताउँदै वर्तमान सरकारले तीनै तहमा सहकारीकोबारेमा स्पष्ट कुरा उल्लेख गरेको बताए । साथै सरकारले बजेटमा पनि सहकारीको विकास सम्बद्र्धनका लागि सरकारले विशेष महत्व दिएको उनको दावी छ ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले मुलुकमा नयाँ व्यवस्था भएकोले आफूहरु अलमलमा परेको बताए । वाइबाले एक वर्षको कार्यकाल निक्कै आप्ठयारोका साथ वितेको अनुभव सुनाए ।

‘प्रदेश र केन्द्रको निर्वाचन पहिला भएको भए काम धेरै हुन्थ्यो । कानुनको अभाब, कर्मचारीको अभावको कारण हामीले काम गर्न सकेनौं ।’ प्रमुख वाइबाले भने– ‘अब विकासको गति तीब्र रुपमा अगाडि बढ्ने छ ।’
आर्थिक समृद्धिको तीन खाम्बा मध्य एक सहकारी भएकोले यसको विकासको लागि आफू जिम्मेवार ढंगले लाग्ने वाईबाले बताए ।
काभ्रेलाई सबै चीजबाट आत्मनिर्भर बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउँदै वाईबाले सहकारीहरुको गुण दोषकोबारेमा समेत चर्चा गरे ।

‘कतिपय नमुना नि छन्, कतिपय झोलामा बोकेर हिड्ने सहकारी पनि देखेका छौ ।’ वाईबाले भने, ‘हामीले बिधिको शासन चाहेकोले सबैको एकरुपतामा बिकास गर्न आबश्यक छ ।’ संघरसंस्था आउने तर स्थानीय सरकारलाई जानकारी नदिने सस्कारको बिकास भएकोमा उनले चिन्ता व्यक्त गरे ।
कार्यक्रमको औचित्य र महत्वकोबारेमा बोल्दै संघका जिल्ला अध्यक्ष विनोद पराजुलीले स्थानीय तहहरुले बजेट तर्जुमा गर्नै लागेकोबेला गरिएको कार्यक्रमले बजेट निर्माणमा समेत टेवा पुग्ने बताए ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले सहकारीले जन्माएको विकृतिको अन्त्य गर्न स्थानीय तहको ठूलो भूमिका रहने बताए ।

कार्यक्रमा प्राध्यापक भरत आचार्यले स्थानीय तह र स्थानीय बिकासमा सहकारीको भुमिकाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा काभ्रेको १३ वटै तहका प्रमुख र उप–प्रमुख, जिल्लाका विभिन्न सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव दिलिप शर्माले गरेका थिए ।






















