सुर्खेत– उपभोक्ता समितिको साढे ६ लाख चोरेको आरोपमा पक्राउ परेका वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोद सिंह विष्ट कारागार चलान भएका छन् । जिल्ला अदालत सुर्खेतले विष्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जनालाई कारागार चलान गर्ने फैसला गरेको छ ।
विष्टसँगै सुशील गुरुङ र बलिराज शाही पनि कारागार चलान भएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वल रावलले रातोपाटीलाई जानकारी दिए ।
विष्ट २४ असारमा पक्राउ परेका थिए । वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
पाँच जनामध्ये दुई जना सन्तोष थापा र यामराज शाही भने दुई/दुई लाख धरौटीमा रिहा भएका छन् ।
वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ । उनीहरुले काम सिद्ध्याइँ बाँड्न लागेको रकम धम्क्याएर लगेको बताइएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















