दोलखा । अपर तामाकोसी सेयर सरोकार संयुक्त संघर्ष समितिले तामाकोसी जलबिद्युत आयोजनाको अनियमितता उपर छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुषन्धान आयोगमा उजुरी दिएको छ ।

सरोकार समितीले आयोजनाको काममा अनावश्यक ढिलासुस्ती गरी लागत बढाउन आयोजनासँग सम्बन्धित अधिकारी चलखेलमा लागेको भनि छानविन गरी कारवाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको हो ।

समितिका संयोजक वर्मा लामा, सह–संयोजक हिरा थोकर र सचिव बद्रीकुमार चौँलागाईले माथिल्लो तामाकोसीमा भ्रष्टाचार भएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएका हुन् । यसअघि विभिन्न माग राख्दै आन्दोलनरत संघर्ष समितिले आज अख्तियारमा उजुरी दिँदै १० प्रतिशत शेयर जिल्लाबासीहरुलाई वितरण गर्नुपर्नेमा सो नगरी अनाधिकृत तह र निकायबाट अनाबश्यक निर्णय गराएको भन्दै सो कार्य स्थगित गर्न समेत माग गरेको छ । समितिले सार्वजनिक खरिद ऐन बमोजिम ठेक्कापट्टाको काम कारवाहीका विषयमा छानविन गरी उचित कारवाहीको माग गरेको छ ।

गुणस्तरीय उपकरण खरिद नगरी फरक फरक कम्पनीका सस्तो मुल्यका उपकरणहरु खरिद गरी आयोजनामा व्यापक अनियमितता भएको भन्दै समितिले अख्तियारको ध्यानाकर्षण गराएको हो । समितिले खाडीचौर–चरिकोट सडकको दुरावस्था देखाई समयमै काम सम्पन्न नगर्ने र माग भई आउने हेभि ईक्युप्मेन्ट समयममा नै आयोजना स्थल पुग्न नसक्ने अवस्थामा उपकरणहरु सप्लाई गर्ने कम्पनिले क्षतिपूर्ति माग गर्दा ठूलो रकम हिनामिना हुने भएको तर्फ समेत गम्भिर ढंगले छानविन हुनुपर्ने माग गरेको छ ।

आयोजनाका पदाधिकारीहरुले मनोमानी निर्णय गराउँदै आयोजना समयमै निर्धारित लागतमा सम्पन्न नगर्ने वातावरण बनाएको भन्दै आक्रोश व्यक्त गरेको संघर्ष समितिले न्यायोचित सिद्धान्तका मान्य आधारमा शेयर वितरणको माग गर्दै अख्तियारको ध्यानाकर्षण गराएको हो ।

दोलखामा निर्माणाधीन ४ सय ५६ मेघावाट क्षमतामा माथिल्लो तामाकोशी जलबिद्युत आयोजना ३९ अब लागतमा सम्पन्न गर्ने भनिएपनि अहिले लागत बृद्धि भएर ६० अर्ब पुग्ने अनुमान गरिएको छ ।

हेर्नुहोस्, यस्तो छ उजुरी विवरण

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।