मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा विहिवारदेखि लम्पी स्कीन संक्रमण विरुद्ध साप्ताह व्यापी अभियान सञ्चालन गरेको छ । नगरपालिकाले गाई र भैंसीमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि १२ वटै वडामा सप्ताह ब्यापी निःशुल्क खोप अभियान सञ्चालनमा ल्याएको हो ।
खोप सप्ताहका लागि १० जना पशु सेवा प्राविधिक परिचालित छन् । वडा नम्बर ३ र ४ तथा ७ र ८ हेर्न गरी एक/एक जना प्राविधिक खटाइएको छ भने बाँकी प्रत्येक वडामा एक÷एक जना प्राविधिक खटाइएको पशुपंक्षी शाखा प्रमुख ध्रुुव प्रसाद पराजुलीले जानकारी दिए ।
नगरप्रमुख टोक बहादुर वाईबाले वडाका जनप्रतिनिधी, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र तथा टोल विकास संस्थाका पदाधिकारीहरुलाई आ–आफ्नो टोल बस्तीमा खोप लगाउन आएका भ्याक्सिनेटरहरुलाई खोप लगाउने कार्यमा सहजिकरण तथा सहयोग गरिदिन आग्रह गरेका छन् ।
नगरपालिकामा पछिल्लो समय गाई भन्दा भैंसी लम्पी स्किन रोगको संक्रमणबाट प्रभावित हुन थालेको बताइएको छ । नगरपालिकाले लम्पी स्किन रोग देखा परेदेखि नै निःशुल्क खोप लगाउँदै आइरहेको छ ।
नगरपालिकाले यसअघि ६ हजार ४५७ वटा गाई र १५० वटा भैंसी गरी जम्मा ६ हजार ६०७ वटामा लम्पी स्किन रोग विरुद्धको खोप निःशुल्क लगाइसकेको छ । नगरपालिकाको सबैभन्दा बढी प्रभावित वडा नम्बर १ हो । यस वडामा २५७ गाई र एक वटा भैंसी गरी २५८ वटा प्रभावित भएका थिए । जसमा ३५ वटा गाई मरेका छन् ।
नगरपालिकामा हालसम्म ७८ वटा गाईको लम्पी स्किन रोगका कारण मृत्यु भैसकेको पशुपंक्षी शाखा प्रमुख पराजुलीले बताए । नगरपालिकाले बैशाख ३१ गतेदेखि निःशुल्क खोप लगाइरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















