धुलिखेल– ‘विद्यार्थीहरु गाउँबाट शहर र शहरबाट विदेश जान रोक्ने शिक्षा कहिले प्राप्त हुन्छ ?’ आइतबार जिल्ला समन्वय समिति, काभ्रेको आयोजनामा भएको ‘विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई’ भन्ने कार्यक्रममा चौंरीदेउराली गाउँपालिका वडा नं. ६ मा रहेको प्रभा माविका विद्यार्थी विमर्श पन्तले गरेको प्रश्न हो यो ।
विदेशहरुको लागि ‘आधुनिक दास’ उत्पादनको केन्द्र बनेको छ नेपालको शैक्षिक संस्थाहरु । वैज्ञानिक, जनवादी, शिपमुलक, प्राविधिक शिक्षाको दुहाइ दिएको आज धेरै वर्ष भएको छ । यी नारा लगाउने र भाषण गर्ने राजनीतिक दलका नेताहरुलाई विमर्शको प्रश्नले गिज्याइरहेको महासुस जो कसैलाई हुन्छ, हुनुपर्छ ।
‘ग्रामिण भेगका विद्यालय र क्याम्पस खाली हुँदै गएकाले विद्यार्थीलाई गाउँबाट शहर र शहरबाट विदेश जान कहिलेसम्म रोक्ने ?’ विमर्श प्रश्न थियो । बागमती प्रदेशका श्रम तथा यातायात रोजगार मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुको दर्जनौं प्रश्न थियो ।
बेथानचोक गाउँपालिकामा रहेको कृष्णगोपाल माविका विद्यार्थी रस्मिता विकाले शिक्षामा भएको धनी र गरिबको खाडल कहिले पुर्ने भनि प्रश्न गरेका थिए । ‘गरीब विद्यार्थीहरु अहिले पनि विद्यालयबाट वञ्चित भइरहेको छ । गरिब र धनीले लिने शिक्षा फरक फरक छ ।’ उनले भने, ‘गरिब र धनीहरुबीचको खाडल हटाउन शिक्षालाई पूर्ण रुपमा निःशुल्क कहिले बनाउने ?’ रस्मिताको प्रश्न थियो ।
कार्यक्रममा छात्राहरुले सरकारले छात्राहरुका लागि स्यानेटरी प्याडको ब्यवस्थापन गरेको भए पनि त्यसको सदुपयोग हुन नसकेको, खानेपानीको राम्रो प्रवन्ध नहुँदा झाडापखालाजन्य रोगहरु फैलिएको, विद्यालयमा जंकफुडको प्रयोग र विद्यालय हातावरपर धुम्रपान र मद्यपानको खुल्ला विक्री भएको, एसईईको परीक्षा केन्द्रमा लापरवाही गरेको, एउटा पालिकाबाट अर्को पालिकासम्म डेरा लिएर गएर बस्नु परेको, केन्द्रमा लापर्वाही हुने गरेको, दोहोरो रजिस्ट्रेशन भरेर विद्यार्थीहरुलाई मानसिक तनाव दिएको, विद्यालय हाता भित्रै शिक्षकहरुबाट यौन दुव्र्यवहार घटनाहरु हुन थालेको जस्ता समस्याहरु राखेका थिए ।
जिल्लाको समग्र शैक्षिक अवस्थाको बारेमा आयोजना गरिएको सो कार्यक्रममा ९२ विद्यालयका ९६ जना विद्यार्थीले सामुदायिक र निजी विद्यालयका समस्या, शैक्षिक गुणस्तर, विद्यार्थी, अभिभावक र शिक्षकहरुले खेल्ने भूमिकाका बारेमा जिज्ञासा राखेका थिए ।
विद्यार्थीहरुको जिज्ञासा र गुनासोकोबारेमा जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख दिपक गौतमले विद्यार्थीहरुलाई स्पष्ट पार्ने काम गरेका थिए । गौतमले तीनै तहका सरकारसँग समन्वय गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । ‘जिल्लाको समग्र शिक्षाको अवस्थाका बारेमा विद्यार्थीको तहबाट बुझेका विषयहरु जानकारी लिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।’ प्रमुख गौतमले भने– ‘विद्यार्थीहरुले उठाएका तमाम विषयहरुलाई तीन तहकै सरकारसँगको समन्वयमा कार्यान्वयन गरिनेछ ।’
केही विषय प्रशासनको तहबाट र केही विषय वडा स्तरबाट नै समाधान गर्ने खालका छन् भने केही विषय विद्यालय आफैले पनि सुधार गर्नु पर्ने अवस्थाका रहेको समन्वय प्रमुख गौतमले बताए ।
कार्यक्रममा समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, समन्वय अधिकारी शान्तिराज प्रसाईँ, शिक्षा समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्की, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाई, पेशागत महासंघका श्याम पाण्डेय, शिक्षक संगठनका अध्यक्ष रामचन्द्र थापा, शिक्षक संघका अध्यक्ष शम्भु घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका, काभ्रेका अध्यक्ष चेत लामा, प्याब्सनका भिमसेन केसी, अभिभावक संघका श्रीकृष्ण थापा, अनेरास्ववियु, काभ्रेका अध्यक्ष मिलन गौतम, नेविसंघका सभापति अञ्जन खतिवडा लगायतका सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















