काठमाडाैं– निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानीसहित ९ बुँदे माग राख्दै ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले आज सोमवार पनि सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् ।
व्यवसायीहरले आन्दोलन गरेको १६ दिनसम्म पनि सरकारले निर्माण व्यवसायीहरुका आवाज नसुनेको भन्दै अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिए । धर्ना कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सडक विभागमा तालाबन्दी गर्ने आफ्नो अधिकारलाई सरकारले नदिएको बताए । उनले सरकारले सडक विभागसम्म जान नदिए सडक जाम गर्ने चेतावनी समेत दिए । उनले सरकार निर्माण व्यवसायीहरुको भुक्तानी नदिने र निर्माण व्यवसायीहरुले काम नै गर्दैनन् भन्ने भ्रम छर्ने काममा उद्धत भएको आरोप लगाए ।
सकरारले सार्वजनिक खरिद नियमावलीको नियम ६ लाई कडाइकासाथ लागू नगरेसम्म, बिना बजेटका योजनाहरु खारेज नगरेसम्म र पूर्वतयारीका योजना खारेज नगरेसम्म आन्दोलनमा जारी राख्ने उनले चेतावनी दिए । अध्यक्ष सिंहले राजनीतिक नेतृत्वको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गर्न चेतावनी दिदै सबै निर्माण कार्यलाई समान हुनेगरी मूल्य समायोजन हुनुपर्ने बताए ।
व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर,जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर,व्यवहारिक माइल स्टेन खारेज गर,गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता,उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेको प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन् । –न्यूज एजेन्सी नेपालबाट
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















