बनेपा– काभ्रे जिल्लाको बनेपा नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रेशम बोहोराले सोमबार बनेपा–८ प्राधिकरणचोक नजिकै रहेको तलापुखुफु पोखरीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको जानकारी दिए।

डिएसपी बोहोराको अनुसार पोखरीमा काभ्रेकै रोशी गाउँपालिका–५ सिसाखानीको ३४ वर्षीय धर्म सिं तामाङ डुबेको अवस्थामा मृत भेटिएका हुन्। यद्यपि, उनले मृतकको साथमा भेटिएको नागरिकता सोही व्यक्तिकै हो कि होइन भन्नेबारे यकिन हुन नसकेको बताए।

‘हामीले मृतकको पहिचान गर्नको लागि रोशी–५ का वडा अध्यक्ष नीरध्वज लामालाई खबर गरी नागरिकतामा नाम उल्लेख गरिएको आफन्तलाई बनेपा बोलाएको छौँ,’ डिएसपी बोहोराले भने, ‘अब आफन्त आइपुगेपछि नागरिकतामा उल्लेख भएको नामको व्यक्ति नै मृतक हो वा होइन यकिन हुन्छ।’

बिहान अन्दाजी ९:१५ तिर स्थानीयले पोखरीमा मान्छे डुबेको जस्तो देखिएपछि प्रहरीलाई खबर गरेका थिए। मृत व्यक्ति पोखरीमा घोप्टो अवस्थामा फेला परेको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।