रोशी– काभ्रे जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले लम्पी स्किन पीडित किसानलाई राहत उपलब्ध गराउन संघीय सरकारका मन्त्रीलाई माग गरेका छन् । बिहिवार अध्यक्ष दिनेश लामा नेतृत्वको टोलीले संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाललाई मन्त्रालयमै भेटेर सो माग गरेका हुन् ।
पालिकाले संघीय सरकारसंग प्रति मृतक पशु बराबर कम्तीमा १ लाख ५० हजार रुपैयाँका दरले किसानलाई राहत रकम उपलब्ध गराउन माग गरेको छ । ‘देशैभरी पशुहरुमा फैलिएको लम्पीस्किन महामारीको कारण यस रोशी गाउँपालिकामा पनि २५०० भन्दा बढी पशुहरु(गाई र भैंसी) मा संक्रमण फैलिएको र २०० भन्दा बढी पशुहरु मरिसकेकोको कारण यस गाउँपालिकाको किसानहरुले ठूलो क्षति व्यहोरिरहेको व्यहोरा अवगत गर्दछु ।’ लामाले राहत माग गर्दै भने, ‘यस प्रकारको महामारीको कारण भएको पशुधनको क्षतिपूर्तीको लागि स्थानीय सरकार मात्रै सक्षम नभएको कारण उक्त पिडित किसानहरुलाई प्रति मृतक पशु बराबर कम्तिमा एकलाख पचास हजारको दरले राहत उपलब्ध गराउनु हुन माननीय मन्त्री ज्यू समक्ष हार्दिक अनुरोध गर्दछु ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















