काठमाडौ- वागमती प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री तिर्थबहादुर लामाले तामाङ पहिचानलाई स्वीकारे मात्र बलियो राष्ट्रवाद हुने बताएका छन । २९ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ संघिय समितिले राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री लामाले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले नागरिकता दिएर मात्र बलियो राष्ट्रवाद नहुने बताउँदै नागरिकतालाई कागजको टुक्रा मात्र भएको टिप्पणी गरे । ‘हामी यो मुलुकको सबैभन्दा ठूलो समुदाय हो । नागरिकता मात्र बलियो राष्ट्रवाद हो जस्तो लाग्दैन । त्यो कागजको टुक्रा मात्र हो ।’ उनले भने, ‘राज्यले तामाङ जातिको पहिचानलाई स्वीकारे मात्र बलोयो राष्ट्रवाद हुन्छ ।’

अधिकार र पहिचानको लागि तामाङहरु एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।
‘अधिकार र पहिचानको निमित्त तामाङहरु एक ठाउँमा उभिनु पर्छ । जाति विशेषको मात्र होइन राष्ट्रलाई बलियो बनाउन तामाङहरु अगाडि बढ्नुपर्छ ।’ उनले भने, ‘जातीय सम्प्रदायिकताको बिरुद्ध हामी उभिनुपर्छ । राजनीतिक र पहिचानको लडाइबाट धेरै अधिकार प्राप्त भएको छ ।’

यसैबीच आगामी भदौ महिना भित्र वागमती प्रदेशमा तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा बनाउन ऐन पास गर्ने बताए । ‘सरकारी कामकाजको भाषामा तामाङ भाषालाई माध्यमको भाषा बनाउन पारित भएको छ ।’ उनले भने, ‘केहिदिन पछि सदन सुचारु हुन्छ र त्यो ऐन पेस हुनेछ । त्यसपछि तामाङ र नेवार भाषा वाग्मती प्रदेशको सरकारी कामकाजको भाषा हुनेछ ।’

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला