खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका १४ हजार भन्दा बढी नागरिकहरू बिजुली बत्तीको पहुँचमा पुग्ने भएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइन जोड्ने कामले तीव्रता पाएसँगै सो गाउँपालिकाका नागरिक बिजुली बत्तीको पहुँचमा पुग्ने भएको हो ।

केन्द्रीय विद्युत् प्रसारण लाइन जोड्न बाँकी जिल्लाकै एक मात्र स्थानीय तहको रूपमा रहेको खानीखोला गाउँपालिका सोमबारबाट विद्युतको सफल परीक्षण भएको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ललितपुर हुँदै जोडिएको केन्द्रीय विद्युत् प्रसारण लाइनबाट तत्काल गाउँपालिकाको कार्यालय, वडा नम्बर ५ को वडा कार्यालय, ताल्ढुंगा प्रहरी चौकी र जनविकास माविमा लाइन जोडिएसँगै बत्ती बल्ने काम समेत भएको जानकारी दिनुभयो । विद्युत् जडानको काम सुरुवात भएको र अबको एक वर्षभित्रमा गाउँपालिकाको सबै बस्तीमा बत्ती पुर्याउने गरी काम भइरहेको अध्यक्ष थिङले बताए ।

‘यो सुरुवात हो, यही महिनाभित्र ५ नं. वडा हुँदै १ वर्षको अवधिमा गाउँपालिको सबै वडाका प्रत्येक घरघरमा बत्ती पुग्ने छ, हामी यही रफ्तारमा लागि रहेका छौँ ।’ अध्यक्ष थिङले भने, ‘परीक्षणको चरणमा खानीखोला गाउँपालिकाको कार्यालयसँगै वडा नम्बर ५ को वडा कार्यालय, ताल्ढुंगा प्रहरी चौकी र जनविकास माविमा बत्ती जडान गरेको छ ।’

अध्यक्ष थिङले केही फाराम भर्ना छुटेका र बत्ती बल्न तयारी अवस्था रहेका वडाका घरहरूमा मिटर बक्स जडानको लागि सूचनासमेत जारी गरेको बताउँदै बत्ती बल्नको लागि फाराम भर्ना बाँकीलाई गाउँपालिका वा वडाको कार्यालयमा सम्पर्कमा रही छिटो उक्त काम गरी मिटर बक्स जडानको लागि अनुरोध समेत गरेका छन् । केन्द्रीय विद्युतको प्रसारण लाइन आएपछि गाउँमै उद्योग खोल्ने तथा नागरिक स्थानीय स्तरमै रोजगारी हुने वातावरण सिर्जना भएको उनको भनाई छ ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्वाले विकटताका कारण धेरै अभाव झेल्नु परेकाले विद्युत्, खानेपानी जस्ता विकासका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले केन्द्रीय प्रसारण लाइन खानीखोलाका सबै वडामा पुगिसकेको भए पनि शाखा लाइन विस्तारको काम भने धमाधम भइरहेको जानकारी दिए ।

त्यसैगरि खानीखोला–५ का वडाध्यक्ष बुद्धि बहादुर स्याङ्तानले पहिलो चरणमा गाउँपालिकाको केन्द्र समेत पर्ने वडा नम्बर ५ मा बत्ती बाल्ने योजन अनुुरुप काम भइरहेको बताउँदै वडा अध्यक्ष स्याङतानले मिटर बक्स खरिदका लागि वडा–वडामा फाराम सङ्कलन भइरहेको जानकारी दिए । वडा कार्यालयले छिटो मिटर बक्स जडानका लागि सूचना समेत जारी गरिसकेको छ ।

नेपाल विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्रको प्रमुख ध्रुव राज कार्कीले लगनखेल वितरण केन्द्र अन्तर्गत रही हुचीटारबाट ११ के.भि.को प्रसारण लाइन विस्तार गरी खानीखोलामा बिजुली सप्लाई गरेको बताए ।

त्यसैगरि गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्चीकरण सेवा इकाई प्रमुख खगेन्द्र खुलालका अनुसार विद्युतको पहुँच सबै वडामा पुग्दा गाउँपालिकाका २ हजार ३९८ घरधुरीका १४ हजार बढी नागरिक लाभान्वित हुने बताए ।

स्थानीयले अब बत्ती आउनेमा पूर्ण विश्वास भएको बताएका छन् । लघु जलविद्युत, सोलर तथा अन्य वैकल्पिक उपायको भरमा बस्न बाध्य स्थानीय मुहारमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली बाल्न पाउने भएपछि खुसी देखिएका छन् । ‘गाउँमा कहिल्यै बिजुली आउँदैन जस्तो लाग्थ्यो, बिजुली बत्ती त्यही सहर बजारमा मात्रै हो भन्ने लाग्थ्यो ।’ खानीखोला–४ का स्थानीय ७३ वर्षीय मंगरसिं तामाङले खुसी भावमा भने, ‘ताल्ढुंगामा बत्ती बालेको खबरले मनै चङ्गा जस्तै भएको छ, यता गाउँतिर पनि तार तानिसकेको छ, अब केही दिनमा गाउँ नै उज्यालो भएको देख्ने पाउने भो ।’

स्थानीय आइते लामाले सदरमुकाम जाँदा मात्रै केन्द्रीय विद्युत् देखिएको तर यसरी गाउँमा बिजुली बत्ती आउलान् भन्ने कहिल्यै नसोचिए बताए । ‘गाउँकै विकास गर्छु भन्ने मान्छे हुँदा विकट ठाउँमा पनि विकास हुँदोरहेछ । छिन्ताङ (गाउँपालिका अध्यक्ष थिङ)ले सधैँ यस्तै काम गरेको सुन्न पाइयोस्, उसलाई राम्रो होस् ।’ उनले भने ।

केन्द्रीय प्रसारण लाइन आएसँगै उद्योग कलकारखाना सञ्चालनको बाटो खुलेपछि गाउँमा युवाहरू फर्किनेमा पनि स्थानीय वृद्ध÷वृद्धाहरू आशावादी छन् । डाँडापारि क्षेत्रको लागि केन्द्रीय विद्युतको प्रसारण लाइन पुग्नु पनि एउटा ऐतिहासिक जित हो, क्रान्ति हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।