बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका दूध उत्पादक किसानहरूलाई अनुदान रकम वितरण गरेको छ । आर्थिक वर्ष २०७९÷८० अन्तर्गतको प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकम अन्तर्गत बेथानचोकका किसानहरूलाई अनुदान वितरण गरिएको हो ।

सहकारीमा आबद्ध किसानहरूलाई बाग्मती प्रदेश सरकारले दूध उत्पादनमा आधारित रही प्रति लिटर दूधमा ३ रुपैंया ५६ पैसा अनुदान दिने घोषणा गरेको थियो । बागमती प्रदेशको अनुदान योजनाले दूध उत्पादक किसानहरू उत्साहित भएका छन् ।

किसानलाई परिचयपत्र वितरण गर्ने तयारीमा गाउँपालिका

अनुदान रकम वितरण गर्दै गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले किसानको ओठमा हाँसो ल्याउनका लागि बागमती प्रदेश सरकारले सोही अनुसारको कार्यक्रम अघि बढाएको बताउँदै बागमती सरकारलाई धन्यवाद दिए । सोही अवसरमा अध्यक्ष अधिकारीले युवा तथा किसानलाई व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न गाउँपालिकाले निःशुल्क कृत्रिम गर्भाधान सेवा तथा गाउँपालिका साक्षी बसेर सहुलियत दरमा कर्जा सुविधाको कार्यक्रम अघि बढाएको बताए ।

गाउँपालिका अध्यक्ष अधिकारीले गाउँपालिकाले किसानको तथ्याङ्क सङ्कलन गर्ने काम अघि बढाएको बताउँदै तथ्याङ्क सङ्कलनको काम पुरा भएपछि ‘किसान परिचय पत्र’ वितरण गरिने बताए ।

अनुदानले किसानमा उत्साह

यसैबिच सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले किसानहरूको समस्या समाधानका लागि गाउँपालिकाले काम गरिरहेको बताए । कृषि उपजको उत्पादन गर्न मल, बीउ, सिँचाइमा गरेको खर्च, रोप्दा, गोडमेल र टिपेर बजारसम्म लैजाने खर्च समेत नउठ्ने अवस्थामा यस प्रकारको अनुदानले उत्साह भर्ने उनको दाबी थियो ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष कुबेर ढकाल, ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, बेथानचोक गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ लगायतले किसानहरूले वर्ष दिन भर किसानहरूले बिक्री गरेको दूधको आधारमा प्रदेश सरकारले दिएको अनुदान रकमले किसानहरूलाई पशुपालनमा आकर्षित गरी थप दूध उत्पादन गर्न उत्प्रेरणा दिएको धारणा राखे । सरकारले दूधमा थप अनुदान रकम दिएसँगै किसानहरूले घरदेखि दुग्ध सङ्कलन केन्द्रसम्म गुणस्तरीय र सफा दूध लैजान ध्यान दिनुपर्नेमा किसानहरूलाई सजग गराए ।

१ वर्षमा १० लाख ५२ हजार लिटर दूधमा अनुदान

अनुदानको रकम वितरण गर्ने जिम्मा आधुनिक कृषि सहकारी संस्थाले सहकारीले थानी महाकाल डेरीमाले पाएको थियो । सहकारीले बेथानचोक गाउँपालिका र पनौती नगरपालिकाको लागि थप अनुदान माग गरेको दश लाख ५८ हजार ३६ लिटर दूधमध्ये दश लाख ५२ हजार लिटर दूधमा मात्रै अनुदान रकम प्राप्त गरेको बेथानचोक–२ का वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए । उनका अनुसार सहकारीमा आबद्ध किसानहरूलाई बाग्मती प्रदेश सरकारले दूध उत्पादनमा आधारित रही प्रति लिटर दूधमा ३ रुपैंया ५६ पैसा अनुदान दिएसँगै सो रकम हस्तान्तरण गरिएको हो ।

सहकारीमार्फत बेथानचोक गाउँपालिका–२ र ३ का १९६ किसान अनुदान रकम पाएको बताए । बेथानचोकका किसानले २६ लाख नौ हजार ६१५ रुपियाँ अनुदान प्राप्त गरेको छ । एउटा किसानले कम्तीमा चार हजार ३४३ रुपियाँदेखि अधिकतम पचास हजार रुपियाँसम्म अनुदान पाएको सहकारीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।