तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ मा रहेको श्री पञ्चकन्या माविको २४ औँ अभिभावक सम्मेलन तथा ६६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मङ्गलवार विद्यालयकै प्राङ्गणमा विभिन्न कार्यक्रमका साथ गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तामाङले तेमालको शैक्षिक सुधारको लागि गाउँपालिका ठोस योजनाका साथ अगाडि बढी रहेको बताए । ‘संविधानमा शिक्षालाई मौलिक हकको रूपमा उल्लेख गरेको छ । त्यसैले पढ्न पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।’ उनले भने, ‘कोही पनि बालबालिका विद्यालय बाहिर नहोस् र विद्यालय शिक्षालाई गुणस्तरीय र वैज्ञानिक बनाउन गाउँपालिकाले ठोस योजना बनाइरहेका छौँ ।’

अध्यक्ष तामाङले आगामी दिनमा विद्यालयको शैक्षिक र भौतिक वृद्धि विकासको लागि आफू हरदम लागिपर्ने समेत प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङले वडाको एक मात्र मावि विद्यालयलाई राम्रो बनाउन आफू सदैव अभिभावकहरू र विद्यार्थीका साथमा रहेको बताए । साथै उनले पञ्चकन्या माविलाई प्राविधिक धारको विद्यालयमा परिणत गर्न पहल गरिरहेको बताउँदै शिक्षालाई सिपमा र शिपलाई उत्पादनमा जोड्ने वातावरण बनाउन वडा कार्यालय प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख कृष्ण घिमिरे, लेखा शाखा प्रमुख सूर्य प्रसाद त्रिपाठी लगायतका सहभागी थिए ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विकुलाल तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा रमेश प्रसाद त्रिपाठीले आर्थिक प्रतिवेदन, प्रधानाध्यापक टङ्कमान लामाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन भने शिक्षक रमेश प्रसाद त्रिपाठी र सत्यमान लामाले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।