बनेपा– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्व मन्त्री जनार्दन शर्माले नेतादेखि कार्यकर्तासम्मलाई वडामै केन्द्रित हुन निर्देशन दिएका छन् । बागमती प्रदेश कमिटीको इन्चार्जको समेत जिम्मेवार पाएका उपमहासचिव शर्माले माओवादी केन्द्र काभ्रे जिल्ला समन्वय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले शान्ति प्रक्रियादेखि आजसम्मको पट्यार लाग्दो निरन्तरतालाई क्रमभङ्ग गर्न यो अभियान सञ्चालन गर्न लागेको बताएका छन् । साथै अभियान सफल या असफलले माओवादी केन्द्र कस्तो पार्टी बन्ने निर्धारण हुने समेत उनले बताए ।

अउलंघनीय विधान बनाउने

अभियानपछि पार्टीले विधान महाधिवेशन गर्ने उपमहासचिव शर्माले बताए । विधान मिचेको स्वीकर्दै शर्माले आत्मालोचना समेत गरे ।

‘हाम्रो पार्टी विधिमा चलेन, विधान सम्मत चलेन र विधान पक्रियालाई मिचेको आलोचना आएको छ ।’ उनले भने, ‘यो आलोचना सहि छ । अब अभियान सकिएपछि विधान सम्मेलन गर्नेछौँ । अब अउलंघनीय विधान निर्माण गर्नेछौँ । अध्यक्ष प्रचण्ड लगायत हामीले एक साथ प्रतिबद्धता जाहेर गरेका छौ ।’

जनतातिर फर्किन निर्देशन

सम्बोधनकै क्रममा शर्माले कार्यकर्ता र जनता तिर फर्किन र सिनियर र जुनियरको बोझ बोकेर पार्टी निर्माण हुन नसक्ने बताए ।

‘पार्टी भित्र के सिनियर को जुनियर भनेर बोझ बोकिरहेका छौँ । सिनियर र जुनियरको बोझ बोकेर अब पार्टी निर्माण गर्न हामीले सक्दैन । आजको पार्टी हाँक्न सक्ने नेतृत्व आवस्यक छ ।’ उनले भने, ‘अब कार्यकर्ता तिर फर्किऊ जनता तिर फर्किऊ भनेर यो अभियान चलाउन लागेका हौ । अब आम कार्यकर्ताले निर्वाचित गरेको मान्छेले मात्र नेतृत्व गर्ने छ । निर्वाचितले काम गरेन भने फिर्ता बोलाउने अधिकार समेत कार्यकर्तालाई रहनेछ ।’

उनले अब माथितिर फर्किने र माथि तिर हार गुहार गर्ने दिन गएको बताउँदै अब तल तल फर्केपछि रुपान्तरण हुने र क्रमभङ्ग हुने समेत दाबी गरे ।

मोर्चालाई सक्रिय बनाउने

बागमती प्रदेशमा तामाङ समुदाय, नेवार समुदाय र दलित समुदायलाई सक्रिय बनाउने शर्माले बताए । माओवादी केन्द्रको भातृसंगठनको रूपमा रहेको एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेवा राष्ट्रिय मुक्ति मोर्चा र दलित मुक्ति मोर्चालाई सक्रिय बनाउँदै पहिचानको पक्षमा फेरि जागृत गराउने उनले बताए ।

‘अब नेवा, तामाङ र दलित समुदायलाई एक साथ जागरण ल्याउन जरुरी छ । धार्मिक, सांस्कृतिक, भाषिक र पहिचानको सवालमा माओवादीले लिएको नीतिकोबारेमा जनतालाई सुनाउन जरुरी छ ।’ उनले भने, ‘यसरी मोर्चाहरूलाई परिचालन गरेर हामीले सङ्गठन निर्माण गर्ने छ । कम्तीमा उनीहरूको जनसङ्ख्याको १० प्रतिशत मान्छे सङ्गठित बनाउनुपर्छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।