बनेपा– नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान” घोषणा गरेसँगै माओवादी केन्द्र बनेपाले तयारी थालेको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ मूल नारा बनाएर अभियानकाे घोषणा गरेकाे माओवादी केन्द्रले अभियान सञ्चालनको लागि केन्द्रीय सदस्य अञ्जना बिसंखेलाई तोकिएसँगै शनिवार विस्तारीत बैठक सम्पन्न भएको छ । 

विस्तारित बैठकले आगामी ३ महिने अभियान अन्तर्गत गरिने विभिन्न कार्यक्रमहरूका बारेमा छलफल गर्दै आगामी याेजना समेत तयार गरेको माओवादी केन्द्रले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन माओवादी केन्द्रका केन्द्रीय सदस्य अञ्जना बिसंखेले आफ्नाे पार्टीले सधैं जनताको पक्षमा काम गर्दै आएको दावी गरे । गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी लगायतका उपलब्धि माओवादीका कारण स्थापित भएकाे बताए ।

उनले बिशेष रूपान्तरण अभियानलाई ब्यवस्थित ढंगले अगाडी बढाउन सबैलाई अनुराेध गर्दै जनता बिग्रेको नभइ पार्टीको नेता कार्यकर्ता बिग्रेकोले यो अभियान सञ्चालन गरेको बताए । ‘संगठनलाई चुस्त दुरुस्त बनाएर युवालाई उत्साहित बनाउनु आजकाे आवश्यकता हाे । जनता बिग्रेकाे हाेईन अहिले पार्टीमा नेता, कार्यकर्ता बिग्रेकाे हाे । पार्टी सहि तरिकाले रुपान्तरण हुनुपर्नेमा खराब तरिकाले फेरिएकाेले पनि याे अभियान हाे ।’ उनले भने, ‘अब हामीले जनताका साथै कार्यकरतामा विश्वास दिलाउनु पर्छ । हामी आत्मानिर्भर बनाैं र संगठन अनि पार्टी बनाऔं । याे ३ महिने अभियानले बनेपालाई बलियाे बनाउन सक्छौं ।’

 कार्यक्रममा बाेल्दै माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयाेग कमिटिका सदस्य गाेबिन्द बहादुर बटालाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वकाे वर्तमान सरकारका गृहमन्त्री अहिलेसम्म कै सफल गृहमन्त्री भएकाे ठाेकुका गरेका छन् । अहिले सरकारले भ्रष्टाचार बिरूद्धमा अभियानहरू चाल्दै गर्दा एमाले र कांग्रेसकै नेताहरू गिरफ्तार भइरहेकाेले राजिनामा माग्दै आफू जाेगिन खाेजेकाे बताए । उनले पार्टीको विधानमा ताेकिय अनुसारकाे संगठन पूर्ण गर्नका लागि पनि ३ महिनाकाे अभियानमा सक्रिय रूपमा अघि बढ्नु पर्ने भन्दै पार्टीमा निष्क्रिय रहेकाहरूलाई फेरि सक्रिय बनाई संगठनमा संगठित गर्नेछौं, उनले भने ।

यसैबीच बागमती प्रदेश समिति सचिवालय सदस्य मिना पाख्रीनले जनतासँग माओवादी: विशेष रूपान्तरण अभियानले पार्टीको उद्देश्य प्राप्ति हुने र जनजनमा माओवादी, घरघरमा माओवादी भनेझै अब सबै संगठनहरू चलयमान हुने र माओवादी पार्टी जनताकाे पहिलाे राेजाई हुने बताए ।

फेरि घर फर्के

यसैबीच बैठकमा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश भएका ३ जनालाई स्वागत गरेका छन् । यस अघि एमालेमा प्रवेश भएका बनेपा नगरपालिका वडा नम्बर २ का झलक प्रसाद घिमिरे, गोकर्ण परियार र राजीव परियार पुनः माओवादी केन्द्रमा फर्किएका हुन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।