बनेपा– नेकपा (माओवादी केन्द्र) काभ्रेले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को तयारी तीव्र पारेको छ । पार्टी केन्द्रीय समितिले तय गरेको अभियान भदौ १६ गते देशैभरि एकै साथ उद्घाटन हुँदै छ ।

माओवादी केन्द्र काभ्रेका जिल्ला सचिव दैवलाल घिसिङ अणुशीलका अनुसार काभ्रेमा सबै पालिकाहरू धमाधम तयारीमा जुटेको छ ।

तयारीका लागि सबै पालिकाहरूले आफ्नो सापेक्षतामा धमाधम विस्तारित बैठक बसेर ३ महिने अभियानको तयारी गरिरहेको सचिव घिसिङले तेमाल अनलाइनलाई जानकारी दिए ।

उनका अनुसार शनिवार (हिजो) माओवादी केन्द्र पनौती नगर कमिटी, बनेपा नगर कमिटी र भुम्लु गाउँपालिका कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । त्यसैगरि आइतबार (आज) पाँचखाल नगर कमिटी, मण्डनदेउपुर नगर कमिटी र बेथानचोक गाउँपालिका कमिटीको बैठक सम्पन्न भएको उनले जानकारी दिएका छन् ।

सचिव घिसिङका अनुसार भोलि (सोमबार) तेमाल गाउँपालिका कमिटी, नमोबुद्ध नगर कमिटी, रोशी गाउँपालिका र चौंरीदेउराली गाउँपालिका कमिटीको विस्तारित बैठक सम्पन्न हुनेछ ।
सबै विस्तारित बैठकमा वडा कमिटीको अध्यक्ष देखि माथिका नेता कार्यकर्ताहरूलाई सहभागी गराइएको छ ।

पार्टी केन्द्रले सबै पालिकाहरूमा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएर खटाएको छ । सचिव घिसिङका अनुसार पनौतीमा केन्द्रीय सदस्यहरू दीपेश महर्जन, उमा कपाली, पाँचखालमा केन्द्रीय सदस्य रवीन्द्र प्रसाद श्रेष्ठ, धुलिखेल नगरमा केन्द्रीय सदस्य अनिल शर्मा, मण्डनदेउपुरमा उपत्यका विशेष प्रदेशको उपाध्यक्ष सन्तोष पौडेल, बेथानचोकमा केन्द्रीय सदस्य राजु आले, बनेपामा केन्द्रीय सदस्य अञ्जना विसंखे र गोविन्द बटाला, भुम्लुमा केन्द्रीय सदस्य लक्ष्मी गुरुङ, तेमालमा केन्द्रीय सदस्य शङ्कर दुलाल, नमोबद्धमा केन्द्रीय आयोग सदस्य धावा लामा, रोशीमा जिल्ला सह–इन्चार्ज मिमबहादुर वाइबा, चौंरीदेउरालीमा केन्द्रीय सदस्य लिलाकन्त तिवारीलाई जिम्मेवारी दिएको छ ।

यता महाभारत र खानीखोलामामा भने केन्द्रीय सदस्य खटाइएको छैन । विकट क्षेत्र भएकोले केन्द्रीय सदस्यहरूले सो क्षेत्रलाई नरोजेको अनुमान गरिएको छ । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले नै नेतृत्व गर्ने बताइएको छ ।

१६ गते एकै समयमा उद्घाटन गरिने

सचिव घिसिङका अनुसार १५ गते भित्रमा वडा कमिटीको बैठक बसी १६ गते काभ्रेमा एकै साथ एकै समय विभिन्न कार्यक्रमहरूका बिच उद्घाटन गरिने भएको छ । सबै वडाहरूले आ–आफ्नो सापेक्षतामा विभिन्न कार्यक्रमहरू बनाई अभियानको उद्घाटन गरिने घिसिङले जानकारी दिए ।

३ चरणमा सकिने अभियानमा के–के हुन्छ त ?

अभियानलाई ३ चरणमा  सम्पन्न गर्ने याेजना रहेको छ । मा‌ओवादी केन्द्रको केन्द्रीय समितीले तय गरेको याेजना अनुसार विभिन्न कार्यक्रमहरु गरी अभियान सम्पन्न गरिने भएको छ ।

पहिलो चरणः

बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग संबन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माण,

दोस्रो चरणः

पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया,

तेस्रो चरणः

जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम । सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र एक्यवद्धताका कार्यक्रम ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।