काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताएका छन् । मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढने प्रयास आफूले गरिरहेको बताए ।
आईतवार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वास समेत व्यक्त गरे । ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकीलको कार्यालयमा बुझाएको स्मरण गर्दै उनले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रुपमा लिएको पनि बताए । त्यस अवसरमा प्रधानमन्त्री दाहालले सो भवनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र प्रश्तुत गरेको भन्दै त्यसमा सबैले गर्वको महशुस गर्नुपर्ने बताए ।
‘प्रदेशहरु र स्थानीय जनप्रतिनिधिहरुले पनि आ–आफ्नो कार्यक्षेत्र भित्र सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई अगाडि बढाउने छन भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । यो पटक हामीलाई स्थिरता, स्थायित्वको साथै समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प हामी नेपालीहरुको अगाडि छैन । मैले यो पक्षमा एउटा समझदारी बनाएर, राष्ट्रिय सहमति बनाएर अगाडि जाने प्रयास गर्दै आएको छु ।’ उनले भने, ‘आजको दिन, कस्तो दिन पनि परेको महशुस गरे भने ललिता निवास प्रकरणको सबै अभियोजन आज सरकारी वकील कार्यालयमा बुझाएको दिन परेको छ । सुशासनको पक्षमा हामी एक कदम अगाडि बढने दिन पनि भन्न सकिन्छ । र, अन्य कुराहरु पनि त्यसरी अगाडि जानेछन् । र, हामी बिस्तारैबिस्तारै नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र सिस्टममा चल्ने, विधिविधानमा चल्ने राष्ट्रको रुपमा विश्वसामु चिनाउनेछौं भनेर पनि म विश्वास गर्छु । यी भवनहरुमा विदेशी पाहुँना आउँदा, जनप्रतिनिधिहरु आउँदा कहीँ न कहीँ हाम्रो राज्य, हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र पनि यी भवनहरु, यी भवनमा बस्ने प्रदेश प्रमुखहरुको अनुहारमा, कामबारवाहीमा, मुख्यमन्त्रीहरुको कामकारबाही र अनुहारहरुमा संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र देख्नेछन् । सबैले गर्व महशुस गर्ने वातावरण बन्नेछ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















