चौंरीदेउराली– काभ्रे जिल्लाकाे चौंरीदेउराली गाउँपालिकाका बासिन्दाले व्यक्तिगत घट्नादर्ता घरबाटै गर्न सक्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका भित्र अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गर्न सक्ने जनाएको हाे ।
नेपाल सरकारको व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, बसाइँसराइ, विवाह, सम्बन्ध विच्छेद) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको हुँदा चौंरीदेउराली गाउँपालिका भित्र अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गर्न आफ्नो घरबाट नै मोबाइलबाट समेत व्यक्तिगत घटना दर्ताको फारम भर्न सक्ने सूचनामा उल्लेख छ । फारम भरी प्राप्त टोकन नम्बर लिएर सम्बन्धित वडा कार्यालयबाट प्रमाणपत्र प्राप्त गर्न सक्ने सूचनामा भनिएको छ ।
यस्तो छ फारम भर्ने तरिकाः
१. https://public.donidcr.gov.np/ मा मा जानुहोस वा दिएको QR Code Scan गरी “घटना दर्ताको लागि यहाँ थिच्नुहोस” मा क्लिक गर्नुहोस ।
२. क्लिक गरिसकेपछि कुन प्रयोजनको लागि फारम भर्दै हुनुहुन्छ, छनोट गर्नुहोला।
३. छनोट गरिसकेपछि फारम खुल्नेछ । उक्त फारम भरिसकेपछि अन्तिममा मोबाइल नम्बर राखेर पेश गर्नुहोस्।
४. उक्त मोबाइल नम्बरमा टोकन नम्बर प्राप्त हुनेछ र सोही टोकन नम्बर लिएर ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी स्थानीय पञ्जिकाधीकारीबाट व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र उपलब्ध हुनेछ । टोकनको प्रयोग ३५ दिनभित्र गरिसक्नुपर्नेछ अन्यथा पुनःमाथिको प्रक्रिया अवलम्बन गर्नुपर्नेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















