रोशी– काभ्रे जिल्लाको रोशी गाउँपालिकामा अंशको विषयमा दाजुभाई बीच झगडा हुँदा १० महिने बालक गम्भिर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, मंगलटारका अनुसार रोशी गाउँपालिका वडा नम्बर ९ पिन्थलीमा दाजुभाईबीचको अंश विवादले झगडा हुँदा १० महिने बालक गम्भीर घाइते भएका हुन् ।
प्रहरीका अनुसार सोही स्थान बस्ने दावा लामाको जेठो छोरो ५५ बर्षीय छेईसाङ लामा र उनका भाई ३९ बर्षी सुरेन्द्र लामाबिच जग्गाको विषयलाई लिएर झगडा हँुदा छेईसाङ लामाले सुरेन्द्र लामालाई प्रहार गरेको बाँसको झटारो सुरेन्द्रको काखमा रहेका १० महिनाको छोराको टाउकोमा लागेको थियो । बाँसको झटारोले टाउकोमा लागेपछि बालक गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
१० महिने बालकको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धुलिखेल अस्पताल पाएको थियो । नाबालक छोरा गम्भिर घाइते भएपछि सुरेन्द्रले दाई छेईसाङ लामा र भाउजु डोल्मा लामालाई कुटपिट गरेका प्रहरीले जनाएको छ । प्रहरीले सुरेन्द्रलाई नियन्त्रणमा लिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















