धुलिखेल– काभ्रेका नयाँ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रजिअ शर्माले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । मंगलबार पत्रकारहरुसँगको भेटघाटमा प्रमुख जिल्ला अधिकारी शर्माले अहिलेको भन्दा बढी प्रभावकारी बनाउने विषयमा आन्तरिक तयारी भैरहेको बताएका छन् ।

शर्माले सिमित साधन स्रोत र जनशक्तिबाट जनताको इच्छा पुरा गर्न समयानुकुल प्राविधि मार्फत भैरहेको सेवालाई सहज बनाउने बताए । पुरानो नागरिकताको पनि डिजिटलाइज गर्ने र नयाँ नागरिकताको तत्काललै डिजिटलाइज गर्ने गरी काम शुरु गरिने प्रजिअ शर्माले जानकारी दिए । ‘नागरिकताको केही ईस्यू देखा परेको छ । अब पुरानो नागरिकताको पनि डिजिटलाइज हुन्छ ।’ उनले भने, ‘नयाँ जारी हुने नागरिकताको त्यहीँ दिन डिजिटलाइज गरेर केन्द्रीय सिस्टिममा कसरी लैजान सकिन्छ भन्ने बारे योजना बनाइसेका छौँ ।’

‘नागरिकताबारे छानविन गर्ने निकायलाई सहयोग गर्छु’

यसैबीच शर्माले विदेशी नागरिकले लिएको नेपाली नागरिकताका बारे छानविन गर्ने निकायलाई पूर्ण सहयोग हुने प्रतिबद्धता जाहेर गर्दै गृह मन्त्रालयले छानविन गरेर प्रतिवेदन दिइरहेको भन्दै थप अनुसन्धानका लागि पूर्ण सहयोग गर्ने बतबाए । ‘छानविन समिति गठन भएर प्रतिवेदन प्राप्त भैसकेको छ । प्रतिवेदनमा उल्लेख भएका कुरा केही समयपछि सार्वजनिक हुनेछ ।’ शर्माले भने, ‘थप अध्ययन र अनुसन्धानका लागि सहयोग गर्न हामी तत्पर छौँ ।’

पछिल्लो समय ६० किलो ७१६ ग्राम सुन तस्कर प्रकरणमा पक्राउ परेका बेल्जियमको पासपोर्टधारी तिब्बती मुलका दावा छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नेपाली नागरिकता लिएको पाइएको छ । छिरिङले नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का पेमा तामाङको छोरा बनेर निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि भएको थियो ।

दावाले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट लिएको नागरिकतामा २०७४ पुस २० गते उल्लेख छ । दावाको नागरिकता बारे छानविन गर्न गृहमन्त्रालयले नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।