मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । शिविर मण्डनदेउपर आधारभूत अस्पतालमा शुरु भएको हो ।
शिविरको उद्घाटन उपप्रमुख विष्णुमणि नेपालले एक समारोहका बीच उद्घाटन गरेका थिए । नगर स्वास्थय शाखाका अनुसार शिविरमा मुटुरोग, अकुपञ्चर, स्त्रीरोग र जनरल परीक्षण सेवा प्रदान भैरहेको छ । आज र भोली दुई दिन शिविर सञ्चालन हुनेछ ।
शिविरको उद्घाटन गर्दै उपप्रमुख नेपालले आधारभूत अस्पतालको सेवा सुविधालाई थप नागरिक मुखी बनाउन आफुहरु लागिरहेको बताए । ‘हाम्रो आधारभूत अस्पतालमा अहिले नै विशेषज्ञ सेवा नियमित रुपमा सञ्चालन गर्न सकिने अवस्था छैन् ।’ नेपालले भने, ‘तर हामीले विभिन्न संघ संस्थासँगको सहकार्यमा स्वास्थ्य शिविर मार्फत विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छौँ । अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने काम पनि भैरहेको छ ।’
नेपाल सरकारले आधारभूत अस्पतालका लागि तोकेको सेवा र त्यसमा नगरपालिकाले केही थप गरेर नगरबासीका लागि स्वास्थ्य उपचार दिइरहेको बताउँदै उनले अस्पताल सञ्चालनमा आएपछि समान्य उपचारका लागि समेत बनेपा, धुलिखेल जानुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।
स्वास्थ्य शिविरको संयोजन गरेका नारायणकृष्ण श्रेष्ठले आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य अनुसार शिविर सञ्चालन गरिएको बताउँदै मण्डनदेउपुर नगरपालिकाको विभिन्न ठाउँमा विगत लामो समयदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बताए । ‘कोभिडका कारण हामीले नियमित गर्दै आएको स्वास्थ्य शिविर रोकिएको थियो । फेरी हामीले आफ्नो कामलाई निरन्तरता दिएका छौँ ।’ श्रेष्ठले भने, ‘पहिले शिविर सञ्चालन गर्न ठाउँको निकै समस्या हुने गरेको थियो । तर अहिले आधारभूत अस्पताल सञ्चालनमा आएपछि निकै सहज भएको छ ।’
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले शिविरले रोग पहिचानमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । ‘यति जाँच गर्न पनि अन्य अस्पताल जानु पर्यो भने निकै खर्च लाग्छ ।’ उनले भने, ‘तर आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य जाँच गर्न पाउन पनि अवसरको कुरा हो ।’
अस्पतालका प्रमुख डाक्टर दिल बहादुर थोकरले अस्पतालबाट स्थापनाको एक वर्षे अवधिमा ८ हजारभन्दा बढी नागरिकलाई सेवा प्रदान गरिसकेको बताउँदै शिविरलाई स्थानीय स्तरमै विशेषज्ञ सेवा प्राप्त गर्ने अवसरका रुपमा लिनुपर्ने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















