बनेपा– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले विगत १५ वर्षदेखि हराइरहेका तेमालका एक व्यक्तिको उद्धार गरेका छन् । आइतबार अध्यक्ष तामाङ र उपाध्यक्ष थोकरले वडा नं. २ लाफ्से निवासी ४१ वर्षिय सन्चविर लामाको उद्धार गरेका हुन् ।

सन्चविर विगत १५ वर्षदेखि पारिवारिक तथा आफन्तबाट सम्पर्क विहिन भएका थिए । काठमाडौंको कालिमाटीका एक व्यापारी जोकनारायण श्रेष्ठले सन्चविरको बारेमा तेमाल गाउँपालिकामा सम्पर्क गरेका थिए । बेबहारिसे अवस्थाका सन्चवीरको बारेमा जानकारी पाउन साथ अध्यक्ष तामाङको टोली कालिमाटी पुगेका थिए ।

टोलीमा स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक समेत पुगेका थिए । पाठकका अनुसार सन्चावीरलाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याइएको छ । उनको उपचारको लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।