खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका श्रीमतीलाई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुन प्रोत्साहन गर्ने ७ जना श्रीमानहरु सम्मानित भएका छन् । हरितालिका तिजको अवसरमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले उनीहरुलाई सम्मान गरेका हुन् ।
अध्यक्ष थिङले गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाले आयोजना गरेको ‘तिज विषेश शुभकामना आदान–प्रदान कार्यक्रम’मा ७ जनालाई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा वडा नं. १ देखि ७ सम्म क्रमशः क्षेत्र बहादुर गोले, दिल बहादुर वि.क., युवराज दोङ, बलीमान मोक्तान, रामबहादुर तामाङ, धन बहादुर थिङ र चन्द्र गोले रहेका छन् । उनीहरुलाई गाउँपालिका अध्यक्ष थिङ र उपाध्यक्ष जिम्बाले प्रमाणपत्र र खादाले सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थिङले संविधानले दिइएको महिला अधिकारलाई पुर्ण रुपमा पालना गरेर विना आशंका र हिच्किचहट समाजिक अगुवाई गर्ने कामहरुमा चुलाचौकाबाट बाहिर निस्केर स्वतन्त्र रुपले काम गर्न सहयोग तथा प्रोत्साहन दिएकोमा सम्मानित हुने श्रीमानहरुलाई धन्यवाद दिएका थिए ।
‘चुलाचौकामा समिति आफ्नो छोरी÷श्रीमातीलाई सामाजिक तथा राजनितिकसँगै महिला तथा बालबालिकाको क्षेत्रमा अभियान्ताको रुपमा विना बाधा काम गर्न प्रेरित गर्ने पुरुष सदस्य (श्रीमान)हरुलाई धन्यवाद छ ।’ उनले भने, ’पुरुष र महिलाबिच गर्ने व्यवहार समान हुन सकेको र महिला ढिला घर आइपुगे भने स्पष्टिकरण दिनु पर्ने अवस्था अझै रहेको छ ।’
यसैबीच गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले संस्कृति तथा चाडपर्वको संरक्षणसँगै महिलाहरुको सम्मानको लागि गाउँपालिकाले तिज विशेष शुभकामना आदानप्रादन कार्यक्रमको आयोजना गरेको बताए । उनले महिलामैत्री अधिकारको सुनिश्चिता भएको बेला यसको रक्षा गर्न समाज हुँदै राष्ट्रको विकासको लागि महिलाहरु एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
उत्कृष्ट स्वयम्सेविका र आमा समुह पुरस्कृत
कार्यक्रममा गाउँपालिकाभित्र कार्यरत उत्कृष्ट महिला स्वयमसेविका र समाजिकसँगै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने आमा समुहलाई समेत प्रमाणपत्र सहित सम्मान गरेको छ ।
रोजगार शाखाका सह–संयोजक सिर्जना थिङका अनुसार उत्कृष्ट महिला स्वयमसेविकामा खानीखोला–५ की विनिता लामा सम्मनित भएकी छन् । त्यस्तै उत्कृष्ट आमा समुहमा खानीखोला–४ स्थित् फुलडाँडामा रहेका प्रगतिशील आमा समुह पुरस्कृत भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















