तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परिक्षण र उपचार प्रारम्भ गरेको छ । बुधवार गाउँपालिका उपाध्यक्ष दलमान थोकर (डिएम)ले वडा नं. ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको उद्घाटन गरेसँगै नसर्ने रोगको निःशुल्क परिक्षण र उपचार पनि प्रारम्भ भएको घोषणा गरेका हुन् ।

गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा नसर्ने रोग सम्बन्धि निःशुल्क परिक्षण र उपचार गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । सोही बमोजिम यो सेवा प्रारम्भ भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थोकरले स्वास्थ्यलाई संविधानमा मौलिक हकको रुपमा उल्लेख गरेको बताउँदै जनताको स्वास्थ्य प्रति गाउँपालिका गम्भिर रहेको बताए । सुगर र उच्च रक्तचापका कारण अकालमा ज्यान जाने भएकोले गाउँपालिकाले सो रोगको निःशुल्क परिक्षण र उपचार गर्न लागेको बताए । यस अघि नसर्ने रोगको अवस्था गाउँपालिकामा कस्तो छ भन्ने पत्ता लगाउन १८ दिने शिविर सञ्चालन गरेको समेत उनले बताउ । ‘संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा उल्लेख गरेको छ । त्यसैले जनताको स्वास्थ्य प्रति हामी गम्भिर छौं । यो भन्दा अगाडि हाम्रो पालिकामा नसर्ने रोगको अवस्था पत्ता लगाउन प्रत्येक वडामा २।२ दिन गरि १८ दिने शिविर सञ्चालन गरेका थियौं ।’ उपाध्यक्ष थोकरले भने, ‘शिविरबाट के पत्ता लाग्यो भने ३१ प्रतिशत मानिसहरुमा मुख्यतः उच्च रक्तचाप र मधुमेहका रोगीहरु फेला परेको थियो । त्यसैलाई ध्यानमा राखेर आजदेखि सो रोगको निःशुल्क परिक्षण र उपचार प्रारम्भ गरेका छौं ।’

त्यसैगरि स्वस्थ्य शाखा प्रमुख शिवहरि पाठकले पालिका भरिमा २८ वटा क्लिनिक सञ्चालन गरेकोमा जनताको माग र आवश्यकता अनुसार आजदेखि २ वटा क्लिनिक थप गरि ३० वटा क्लिनिक सञ्चालन गरेको बताए । उनले रक्तचाप र मधुमेहको परिक्षण गाउँघर क्लिनिकमा नै गर्ने बताए । ‘प्रत्येक महिनामा गाउँ घर क्लिनिक सञ्चालन हुँदा अब निःशुल्क रुपमा ब्लडप्रेसर र सुगर परिक्षण गरिनेछ ।’ उनले भने, ‘जुनसुकैबेला परिक्षण गर्न नारायणस्थानमा ल्याब रहेको छ । त्यहाँबाट पनि निःशुल्क परिक्षण गर्न सकिने छ ।’

गाउँघर क्लिनिक वडा नं. ५ को थिलवार र वडा नं. ९ को चेग्रेनमा उद्घाटन गरिएको थियो ।
वडा नं. ५ का वडा अध्यक्ष हजारसिं लामाले आफू स्वास्थ्य जस्तो संवेदनशिल विषयमा जनताको माग र आवश्यकतालाई पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले जनताको हरेका आवश्यकता र समस्यालाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरु अगाडि बढाएको समेत बताए ।

यसैबीच वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामाले जनतालाई पायक पर्ने स्थानमा गाउँघर क्लिनिक सञ्चालन गर्न लागेको बताए । साथै लामाले औषधि समेत स्वास्थ्य इकाइमै व्यवस्था गर्ने योजना रहेको बताए ।

आजको गाउँघर क्लिनिकमा वडा नं. ५ मा ६५ जनाको स्वास्थ्य परिक्षण गरिएको पोखरी नारायणस्थान स्वास्थ्य चौकीका इन्चार्ज मिना मोक्तानले जानकारी दिए ।

नसर्ने रोगको निःशुल्क परिक्षण र उपचारबाट स्थानीयले महत्वपूर्ण लाभ लिने भएको छ । गाउँघरमै निःशुल्क परिक्षण र उपचार हुने भएपछि स्थानीय खुशी छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।