तेमाल– माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी– विशेष रुपान्तरण अभियान’ अन्तर्गत काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश हुने क्रम जारी रहेको छ । आज (शनिवार) नेकपा एमालेका ५ नं. वडा कमिटी उपाध्यक्ष ज्ञानजन लामा तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादीले केन्द्रको ‘जनतासँग माओवादी– विशेष रुपान्तरण अभियान’को शिलसिलामा आयोजना गरिएको वडा स्तरीय विस्तारीत बैठकमा तामाङ माओवादीमा प्रवेश भएका हुन् । उनलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर दुलालले पार्टी संगठीत सदस्य प्रदान गरी स्वागत गरेका थिए ।

तामाङलाई स्वागत गर्दै दुलालले मुलुकको सुशासन, सामाजिक न्याय र समृद्धिको लागि माओवादी केन्द्र सबैले रोज्नु पर्नेमा जोड दिए । कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि लागेका तामाङले क्रान्तिकारी पार्टी रोजेकोमा खुशी व्यक्त गर्दै केन्द्रिय सदस्य दुलालले समाजवादी क्रान्ति सम्पन्न गर्न सबै एक ठाउँमा उभिनुपर्ने बताए ।

एमाले यथास्थितिवादी र भ्रष्टाचारी भएकोले माओवादी केन्द्रमा प्रवेश भएको नवप्रवेशी तामाङले बताए । आफू विगतमा माओवादी आन्दोलनमै रहेको तर बीचमा एमालेमा प्रवेश भएको र आफ्नै घरमा फर्किन पाउँदा खुशी लागेको बताए । ‘आफ्नो वर्गलाई छोडेर म अर्कै वर्गमा पुगेको रहेछु ।’ उनले भने, ‘एमाले यथास्थितिवादी र घोर भ्रष्टाचारी पार्टी रहेछ । यसले मुलुकको समृद्धि सम्भव नै देखेन । आज मेरो आफ्नै घरमा फर्किन पाउँदा खुशी लागेको छ ।’

कार्यक्रममा माओवादी केन्द्र वागमती प्रदेश परिषद् सदस्य कुलबहादुर तामाङ, जिल्ला कमिटी सदस्य खड्गाबहादुर तामाङ, डिलबहादुर थोकर (ग्याम्जो), पालिका सचिवालय सदस्य तथा वडा इन्चार्ज मोहनकुमार तामाङ, सचिवालय सदस्य तथा जननिर्वाचित वडा अध्यक्ष हजारसिं तामाङ, पालिका सदस्यहरु पाल्साङ लामा, भोजबहादुर विक, पार्टी वडा कमिटी अध्यक्ष अज लामा लगायतले नवप्रवेशी तामाङलाई स्वागत गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।