तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकालाई वाल विकास शिक्षक र विद्यालय कर्मचारीले ४ बुँदे माग पत्र पेश गरेको छ । सोमबार वाल विकास शिक्षकको तेमाल गाउँ समिति अध्यक्ष रस्मिता दोङ र विद्यालय कर्मचारी तेमाल समितिका अध्यक्ष चमारसिं तामाङले गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ समक्ष सो ज्ञापन पत्र पेश गरेका हुन् ।

माग पत्र पेश गर्दै शिक्षक तथा कर्मचारीहरुले आफूहरुले उचित तलब भत्ता तथा सेवा सुविधा लगायतका सबै कुरामा विभेद भई पाउनुपर्ने तलब समेत नपाएको गुनासो समेत गरेका छन् । उनीहरुले नेपाल सरकारले आ.वा २०७८/०७९ को बजेटमा उल्लेख भए बमोजिम स्थानीय तहले बेहोर्नुपर्ने रु. ७,०००/– निशर्त रुपमा उपलब्ध गराइ आ.व. २०७९/०८० बजेटमा उल्लेख भए अनुसार अन्य सरकारी राष्ट्र सेवक सरह महंगी भत्ता तथा तलब भत्ता बृद्धि गरी पारिश्रमिक उपलब्ध गर्न माग गरेको छन् ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष तामाङले शिक्षा जस्तो सम्वेदनशिल विषयमा तेमाल सरकार निक्कै गम्भिर रहेको र शिक्षक तथा विद्यालय कर्मचारीको उचित मागहरु पूरा गर्दै जाने प्रतिबद्धता जाहेर गरेका थिए । सो कार्यक्रममा उपाध्यक्ष दलमान थोकर, पालिका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङ, प्रमुख प्रशासकिय अधिकृत केदारप्रसाद ढकाल लगायतका सहभागी थियो ।

के छ माग पत्रमा ?

बाल विकास शिक्षक तथा विद्यालय कर्मचारी तेमाल गाउँपालिका समिति

विषय– ज्ञापन पत्र

सर्वप्रत तेमालका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष तथा वडा नं. १ देखि ९ सम्मका सम्पूर्ण वडा अध्यक्ष ज्यूहरु लगायत सम्पूर्ण नवनिर्वाचति जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।

तेमालको हामी बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले उचित तलब भत्ता तथा सेवा सुविधा लगायतका सबै कुरामा विभेद भई पाउनुपर्ने तलब समेत नपाएको जानकारी गराउँदाछौं । यस तेमाल सरकारबाट हाम्रो तपशिल बमोजिमका मागहरु तत्काल सम्बोधन र्ग अनुरोध समेत गर्दछौं ।

तपशिल
१. नेपाल सरकारले आ.वा २०७८÷०७९ को बजेटमा उल्लेख भए बमोजिम स्थानीय तहले बेहोर्नुपर्ने रु. ७,०००/– निशर्त रुपमा उपलब्ध गराइ आ.व. २०७९/०८० बजेटमा उल्लेख भए अनुसार अन्य सरकारी राष्ट्र सेवक सरह महंगी भत्ता तथा तलब भत्ता बृद्धि गरी पारिश्रमिक उपलब्ध गराइयोस् ।

२. तेमाल गाउँपालिका भित्र सञ्चालित वालविकास केन्द्रको लागि शैक्षिक तथा खेल सामाग्रीहरुको व्यवस्थापन तथा बाल विकास केन्द्रमा कार्यरत वाल शिक्षकहरुलाई पुनर्ताजगी तालिमको शिघ्र व्यवस्था गरियोस् ।

३. उमेरको हदबन्दी नगरियोस तथा स्वच्छिक अवकास हुने वाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई उचित सेवा सुविधान सहित अवकस दिनुपर्ने ।

४. अनुदान सेवा सुविधानलाई स्थानीय सरकार मार्फत प्रदेश तथा केन्द्र सरकारलाई दरबन्दीमा रुपान्तरणका लागि विशेष पहल गर्नुपर्ने ।

चमार सिं तामाङ
अध्यक्ष, विद्यालय कर्मचारी तेमाल गाउँ समिति

रस्मिता दोङ
अध्यक्ष, वाल विकास शिक्षक तेमाल गाउँ समिति

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।