दोलखा– दोलखाको शैलुङ गाउँपालिकामा एक पुरुषले आफ्नै बुबा र बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । शैलुङ गाउँपालिका–२ पुरानो गाउँका पञ्च वहादुर तामाङले आफ्नै ७५ वर्षीय रामवहादुर तामाङ र दाजु मानकाजि तामाङको बुहारी २७ वर्षीया जेनिशा तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
मदिरा सेवन गरेका पञ्चवहादुरले घरायसी विवादमा हिजो साँझ बुबा रामवहादुरलाई खुकुरी प्रहार गरेको र उनलाई बचाउन गएकी बुहारी जेनिशालाई पनि खुकुरी प्रहार गरी घाइते बनाएको दोलखाका प्रहरी प्रमुख, डिएसपी दिपक खड्काले जानकारी दिए । प्रहरीका अनुसार खुकुरी प्रहारवाट रामवहादुरको टाउको र कानमा गम्भीर चोट लागेको छ । उनको अवस्था गम्भीर छ । यस्तै, जेनिशाको पनि टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई गय राति नैं उपचारकालागि काठमाडौं पठाइएको छ । उनीहरुको जोरपाटी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यसैवीच, आफ्नै बुबा र बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने ४२ वर्षीय पञ्चवहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा एक प्रहरी जवान पनि घाइते भएका छन् । नियन् त्रणमा लिने क्रममा पञ्चवहादुरले खुकुरीको झटारो हान्दा इलाका प्रहरी कार्यालय मागापौवाका प्रहरी जवान भुपनारायण श्रेष्ठ घाइते भएका हुन् । उनको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















